•  रमेश पराजुली
  • काठमाडौं, ८ असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक संघर्ष साम्य पार्नको लागि ‘विशेष महाधिवेशन’ को प्रस्ताव अघि सारेका छन् । जेनजी आन्दोलनपछिको पदाधिकारी बैठकमा उनी आफैँले केन्द्रीय कमिटी भंग गरेर विशेष महाधिवेशनको प्रस्ताव गरे ।

आउँदो महाधिवेशनमा नेतृत्वमा प्रचण्डसँग भिड्ने तयारी गरिरहेका शर्माले प्रचण्डको राजीनामा माग्दै आइरहेका छन् । आइतबार बसेको पदाधिकारी बैठकमा पनि शर्माले प्रचण्डको राजीनामा माग्दै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संयोजक तोकेर जानुपर्ने प्रस्ताव अघि सारे ।

maunt

शर्माको पछिल्लो गतिविधिप्रति प्रचण्डनिकट नेताहरू सन्तुष्ट छैनन् । त्यसो त यसअघि पनि शर्माले संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको टिप्पणी गरेका थिए ।

उनको भनाइ थियो, ‘अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्मसमीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गरौँ।’

शर्माले यही बहस अहिले पार्टीमा छेडेका छन् । तर, प्रचण्डले अन्तरसंघर्षलाई कमजोर पार्ने रणनीति अख्तियार गरेर केन्द्रीय समिति, पदाधिकारी र तल्ला तहका सबै संरचना विघटन गरी आयोजक समिति गठनको ‘कार्ड’ फ्याँकेका छन् । बिहीबारको कमिटीमा प्रस्ताव लैजाने र मङ्सिरभित्र विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेको बताइन्छ ।

विशेष महाधिवेशनबाट नयाँ संरचना बनाउने, युवाको बहुमतसहित महिला, दलित आदिलाई सुनिश्चित गर्ने, महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचन गरेर अध्यक्ष र पदाधिकारी छान्ने प्रचण्डको प्रस्ताव छ।

pp1

आइतबार बसेको माओवादी पदाधिकारी बैठक ।

यही प्रस्ताव यसअघि पार्टी रुपान्तरणको लागि भन्दै शर्माले उठाउँदा हेडक्वाटरको तर्फबाट उनी घेराबन्दीमा पर्ने गरेका थिए । तर, अहिले प्रचण्डले नै नेतृत्व छाड्न पार्टीभित्रबाटै दबाब बढिरहेको बेलामा विशेष महाधिवेशनमा जान तयार भएकोप्रति केही नेताहरू भने सशङ्कित छन् ।

पार्टीभित्र नेतृत्व छाड्न दबाब बढिरहेको बेलामा विशेष महाधिवेशनबाट नेतृत्व छाड्न नभई आफूअनुकूल टीम ल्याउनको लागि तयार भएको हुनसक्ने शर्मा निकट नेताहरूको छ ।

अहिलेको केन्द्रीय समितिलाई भङ्ग गरेर आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय मात्रै भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

उनले भने, ‘अब नेतृत्व हस्तान्तरणबारे विचार, विधि र प्रक्रियाको बारेमा प्रारम्भिक छलफल भएको छ । त्यसबारे केन्द्रीय समिति बैठकमा थप छलफल हुन्छ। हामीले पहिलादेखि नै महाधिवेशनमा जाने निर्णय गरेका थियौँ । तर, अहिले जेनजी विद्रोहपछिको बदलिँदो परिस्थितिमा नेतृत्व परिवर्तन र निर्वाचनमा जानेबारे आधिकारिक धारणा बनाउन आवश्यक छ ।’

पार्टीको सर्वोच्च संस्था भनेकै महाधिवेशन भएकाले महाधिवेशनमा जानको लागि सामान्यतया केन्द्रीय समिति विघटन गरेर अध्यक्षको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन हुने उनले बताए ।

उनले थपे, ‘अहिले हामीले प्रस्ताव लैजाने भनेका हौँ। कुनै निर्णय भएको छैन । ८ गते बस्ने स्थायी कमिटी बैठकमा पनि यसबारे छलफल हुन्छ र ९ गतेको केन्द्रीय समिति बैठकले नै निर्णय गर्छ।’

नेतृत्व नछाड्ने प्रचण्डको मूड

सचिव गणेश साह नेतृत्व परिवर्तनको बहसलाई स्वाभाविक ठान्छन् । उनी भन्छन्, ‘अब उहाँ आफैँले विशेष महाधिवेशनमा जाने कुरा गर्नुभएको छ । मंसिरमा विधान महाधिवेशन गरेर चुनावमा जाने निर्णय गर्छौँ ।’

pp2

गणेश साह ।

अब बस्ने बैठकले निर्णय गरेलगत्तै पार्टीले तयारी थाले मंसिरभित्र सहजै विशेष महाधिवेशन गरेर पार्टीमा नयाँ नेतृत्व ल्याउनसक्ने उनको भनाइ छ ।

अर्का एक पदाधिकारीले भने भने प्रचण्डले अझै पनि अध्यक्ष पद छाड्ने मनस्थिति नदेखाएको दाबी गरे ।

उनले भने, ‘उहाँले भग्नावशेष पार्टी कार्यालयमा उभिएर पार्टी भव्य बनाउँछौँ भनेर अबको चुनाव समेत उठ्नेसम्मको सङ्केत देखाउनुभएको छ । उहाँको पछिल्ला अभिव्यक्ति र गतिविधिले उहाँले तत्कालै नेतृत्व छाड्ने सम्भावना देखिँदैन ।’

विशेष महाधिवेशन नै भएपनि उम्मेदवारी दिएर कसैले पनि प्रचण्डसँग प्रतिस्पर्धा गर्ने आँट नराख्ने ती नेताको बुझाइ छ ।

ती पदाधिकारी थप्छन्, ‘विशेष महाधिवेशनमा दस्तावेजको कुनै बहस नै नहुने भएकाले त्यसको खासै अर्थ हुँदैन । यही कमिटीले नयाँ नेतृत्व छान्ने भएपछि उहाँले आफू अनुकूलको नेतृत्व ल्याउनुहुन्छ । नेतृत्व छाड्न होइन आफू अनुकूलको व्यक्तिलाई टिममा ल्याउनको लागि विशेष महाधिवेशन भन्नुभएको हो जस्तो देखिन्छ ।’

उपमहासचिव शर्माले विशेष महाधिवेशनको माग राखेको भएपनि सोचेजस्तो ठोस उपलब्धि नहुने ती नेताको दाबी छ । ती नेताको दाबी छ, ‘न प्रचण्डले नेतृत्व छाड्नुहुन्छ। न महाधिवेशनमा चुनाव नै हुन्छ । त्यही टीके प्रथाले निरन्तरता पाउने न हो । त्यसैले हेडक्वाटरले नरुचाएको व्यक्ति पार्टी नेतृत्वको टीममा नपर्न सक्छ ।’

‘प्रचण्डको विकल्प छैन’

केन्द्रीय सदस्य रञ्जित तामाङ पार्टीमा रूपान्तरण र पुस्तान्तरणको बहस चलेको भएपनि अहिले तत्कालै प्रचण्डको विकल्प नखोज्ने बताउँछन्।

pp3

रञ्जित तामाङ ।

उनले भने, ‘अहिले पार्टीमा नेतृत्व रूपान्तरणको बहस चलेको छ । तर, उमेरको कुरा होइन । नीति र नेतृत्वको कुराले अहिले नै प्रचण्डको विकल्प अर्को कोही आइहाल्ने देख्दिनँ। पुस्तान्तरणको बहस सबैतिर चलेको छ। हाम्रोमा युवाहरूलाई सबै तहमा ल्याउनुपर्छ भन्ने कुरा हो ।’

उनले प्रचण्डको विकल्पमा अर्को कुनै सर्वस्वीकार्य नेता पार्टीमा नभएको जिकिर गरे ।

उनले थपे, ‘अहिले प्रचण्ड लगायत धेरै नेताहरूले छाडेर पुस्तान्तरणको विषयमा २० प्रतिशत युवा भनिएको छ। त्यसको मात्रा बढाउनुपर्छ भन्ने हो । तर, अहिले नै प्रचण्डको विकल्प आइहाल्ने, वा प्रचण्डले छाड्दा अर्को कोही सर्वसम्मत व्यक्ति छ भन्ने लाग्दैन । त्यसैले प्रचण्डजस्तो अहिले नै विकल्प नहुनसक्छ ।’

उनले उपमहासचिव जनार्दन शर्माको प्रस्ताव अनुसार वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई संयोजक तोकेर जान सक्ने कुनै सम्भावना नरहेको बताए ।

उनले भने, ‘उहाँले पार्टी रूपान्तरणको जे कुरा उठाइराख्नुभएको छ । त्यो रचनात्मक र सकारात्मक छैन । उहाँ निषेधात्मक र नकारात्मक ढङ्गले अघि बढेको देखिन्छ । त्यो माओवादीको अहिलेको समाधान होइन । त्यो निष्कर्षमा माओवादी पुग्दैन । प्रचण्डको अभिमानमाथि जनार्दनको स्वाभिमान माओवादीमा असम्भव छ ।’

तेस्रो पुस्तालाई नेतृत्व छाड्न माग

केन्द्रीय सदस्य हिमाल शर्मा पनि विशेष महाधिवेशनबाट प्रत्यक्ष निर्वाचन कमिटी आउने दाबी गरे ।

उनले भने, ‘अब सबै कमिटी भङ्ग भएर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक कमिटी गठन हुन्छ । नेतृत्व प्रत्यक्ष निर्वाचित भएर आउँछ । अब बिदा हुँदा प्रचण्ड मात्रै बिदा भएर हुँदैन । उहाँको पुस्ता नै बिदा हुनुपर्छ भन्नेछ ।’

pp5

हिमाल शर्मा ।

उनले प्रचण्डले नेतृत्व छाड्न परेपनि पनि उपयुक्त पात्र खोजी गर्नुपर्ने बताए । उनले थपे, ‘प्रत्यक्ष निर्वाचित कार्यकर्ताबाटै नेतृत्व छनोट हुन्छ । अध्यक्षले नेतृत्व छाड्ने अरू रहने भन्ने हुँदैन । उहाँहरू अब संरक्षक बसेर तेस्रो पुस्तालाई अघि सार्नुपर्छ ।’

पहिलो र दोस्रो पुस्ता बिदा हुन नचाहे खुला प्रतिस्पर्धा हुने उनको भनाइ छ ।

उनले भने, ‘नेतृत्व चयनका लागि कार्यकर्ताबाट प्रत्यक्ष चुनाव हुनुपर्छ । त्यसका लागि अब बस्ने केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिबारे निर्णय गर्नुपर्छ। यही केन्द्रीय समितिबाट पदाधिकारी चयन गर्ने भन्ने कुरा मानिँदैन ।’

उनले पार्टी सदस्यता र भौगोलिक आधार बनाएर महाधिवेशन प्रतिनिधि छनोट गर्ने परम्परा रहेको पनि बताए ।

‘जनार्दनले ढ्वाङ थापेर जिते अध्यक्ष स्वीकार्छौँ’

युवा नेता राजन दाहालले पनि अब पार्टीमा प्रचण्डसहित सबैले नेतृत्वमा आउन चुनाव जित्नुपर्ने बताए । उनले उपमहासचिव शर्मालाई पनि नेतृत्वमा प्रतिस्पर्धा गर्न चुनौती दिँदै जितेर आए अध्यक्ष स्वीकार्न तयार रहेको बताए ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै-

अहिले दल र दलको नेतृत्वप्रति धेरै वितृष्णा बढेको छ । त्यसैले कार्यकर्ताबाटै अनुमोदित भएर आउनको लागि विशेष महाधिवेशनमा जान खोजिएको हो । यसले आम युवा पुस्ताको मनोविज्ञान पनि प्रस्ट पार्छ विशेष महाधिवेशनबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट नै नेतृत्व चयन हुन्छ । अध्यक्षसँग प्रतिस्पर्धा गर्न सबै खुला रहन्छन् । अहिले ३७ वर्षदेखि प्रचण्डले आफूलाई आफैँले नेतृत्व तोकेको भन्ने बाहिर सन्देश गइरहेको छ ।

pp4

राजन दाहाल ।

प्रत्यक्ष निर्वाचनमा जाँदा कार्यकर्तालाई जसलाई रुचाउँछन् त्यही अध्यक्ष हुन्छ । वृहत् जनवादको अभ्यास र प्रत्यक्ष निर्वाचन प्रणालीबाट हामीले विधान संशोधन गरेर भएपनि यस पटक निर्वाचित टीम नै नेतृत्व पुग्छन् । प्रचण्डविरुद्ध प्रतिस्पर्धा गर्न पनि कसैलाई निषेध गर्दैनौँ । आउने हिम्मत गर्नुपर्‍यो ।

महाधिवेशन प्रतिनिधि नै छनोट हुन नसक्ने नेताहरूले अध्यक्षको दाबी गरेका छन् । अहिले अध्यक्षको दाबी गर्छु भन्ने कतिपयले आफ्नो वडा समेत जिताउन सक्दैनन् । लोकप्रियता, योग्यता र व्यक्तित्वको हिसाबले प्रचण्डसँग प्रतिस्पर्धा गर्न ल्याकत राख्ने कोही छैनन् ।

आठौँ महाधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । सक्नेले त त्यही ढ्वाङ थापेको भए हुन्थ्यो नि ! नेतृत्व परिवर्तन त अर्को महाधिवेशनमा पुगेपछि मात्रै हुन्छ । त्यसैले कसैले अराजनीतिक कुरा गर्नु हुँदैन । अहिले प्रचण्डले राजीनामा दिनुपर्ने कारण के छ ? कांग्रेस-एमाले सरकारविरुद्ध युवा पुस्ताको मागलाई समर्थन गर्नुभएको छ । यो परिस्थिति ओली र देउवाको कारणले आएको हो ।

उहाँहरूको हकमा पार्टीभित्र राजीनामा माग्नु स्वभाविक हो तर प्रचण्डले पर्दैन । त्यसैले उहाँले राजीनामा माग्नु पर्दैन । अब विशेष महाधिवेशनमा ढ्वाङ थापे भइहाल्यो नि ! उहाँ कार्यकर्ताबाट अनुमोदित भए अध्यक्ष स्वीकार्न हामी तयार नै छौँ ।

व्यक्तिगत कुनै आग्रह पूर्वाग्रह हामीले राखेका छैनौँ । प्रतिस्पर्धामा आउन सक्नुपर्‍यो नेतृत्व कसैले लिने र दिने विषय नै होइन । यो पटक हामी वृहत् लोकतान्त्रिक विधिबाट नेतृत्व छनोट गर्छौँ । हिम्मत भए ढ्वाङ थापे हुन्छ ।

प्रचण्डले आफूअनुकूल टीम ल्याउन नभई कार्यकर्ताले इच्छाएको व्यक्ति अब नेतृत्वमा आउँछ । अब पार्टीभित्र मनोनीत कोही हुँदैनन् । अध्यक्षले इच्छाएर हुँदैन । सिङ्गो महाधिवेशन प्रतिनिधिले इच्छाएको व्यक्ति नेतृत्वमा आउने कुरा प्रस्ट छ । अध्यक्षले आफ्नो अनुकूल टीम बनाउनको लागि विशेष महाधिवेशनमा जान खोजेको होइन ।

(नेपाल प्रेसबाट)