सिरहा, २४ भदौ। जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्युका जारी गरेपनि प्रदर्शन र तोडफोड रोकीएको छैन। 

जिल्ला प्रशासन कार्यालय सिरहा, मिर्चैया, गोलबजार र लहाननगरपालिकाको बजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको भएपनि यहाँ अझै प्रदर्शन र तोडफोड जारी रहेको छ। 

जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार बिहान विरोधका कार्यक्रम गर्दा जिल्लाका सार्वजनिक सम्पत्तिमा क्षति नपुग्ने गरी तथा आम नागरिकको अमन चयनमा खलल नपुग्ने गरी गर्न आग्रहसहितको सार्वजनिक अपिल जारी गरे लगत्तै लहान, गोलबजार, मिर्चैया लगायतका ठाउँहरुमा आन्दोलनकारीले सरकारी भवन, नेताका घरहरु तोडफोड र आगजानी गरेका छन्। 

गोलबजार नगरपालिकाका सम्पूर्ण काजगातहरु जलाउनुको साथै भवनमा समेत आगजानी गरेको छ। आगजानीका कारण महत्वपूर्ण काजगातहरु जलेर नष्ट भएका छन्। 

पालिकाका सवारीसाधनमा समेत आगलागी भएको स्थानीयले जनाएको छ। 

आगजनीपछि फैलिएको आगोले सर्वसाधारणको घरमा पनि क्षेति पुर्याएको स्थानीयले बताए। स्थानीयका अनुसार प्रदर्शनकारीहरुले नेकपा एमालेका स्थायी समिति सदस्य तथा संघीय सांसद लिलानाथ श्रेष्ठको घरमा समेत तोडफोड तथा आगजानी भएको छ। उनको घरमा रहेको एउटा कार र ट्याक्टरसमेत जालेको स्थानीयले जानकारी दिए।  आन्दोलनकारीले सांसद श्रेष्ठकाभाई गोलबजारका मेयर श्यामकुमार श्रेष्ठको घरमा पनि तोडफोड गरेका छन्।

आन्दोलनकारीले लहान नगर प्रहरीको भ्यान, नापी कार्यालय, मालपोत, लहान नगरपालिका, प्राविधिक शिक्षालय, डिभिजन वन कार्यालय लगायतका निकायहरुमा आन्दोलनकारीहरुले मंगलबार बिहान करिब ११ बजेतिर तोडफोड र आगजनी गरेका छन्। 

विष्णुपुर गाउँपालिका र नरहा गाउँपालिकाको कार्यालयमा पनि तोडफोड र आगजानी भएको समाचार प्राप्त भएको छ।