सिरहा, २४ भदौ। देशका विभिन्न स्थानमा नेकपा एमाले पार्टी कार्यालय र नेताहरुको घरमा तोडफोड हुन थालेका छन्। आक्रोशित प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका हुन्। सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी तथा तोडफोड गरेका छन्।

आजै आन्दोलनकारीले जनकपुरस्थित एमालेका नेता रधुबिर महासेठको घरमा ढुङ्गामुडा गरेका छन्।

अक्रोशित प्रदर्शनकारीहरुले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा पनि आक्रमण गरेको समाचार छ।

कोसी प्रदेशका पनि विभिन्न सहरमा आज बिहानैदेखि आन्दोलन तीव्र बनेको छ।

झापाको बिर्तामोडस्थित नेकपा एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

आज बिहानै भेला भएका प्रदर्शनकारीले पुनः कार्यालयमा तोडफोड गर्दै आगो लगाएका हुन्।

प्रदर्शनकारीले पुष्पलाल चोकमा रहेको पुष्पलालको सालिकसमेत तोडफोड गरेका छन्।

सोमबार जेनजीको प्रदर्शनमा प्रहरी दमन भएको विरोधमा कार्यालयमा आगजनी गरिएको हो।

सोमबारको आन्दोलनमा देशैभर २० जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन्। त्यसको विरोधमा आज देशकै प्रायः सहरमा प्रदर्शन भएको छ।