• चन्द्रकिशोर

यतिखेर मानौं समय पर्खाल बनेर खडा देखिएको छ । र, त्यो पर्खालमा मुख्य राजनीतिक दलहरू छेपारो बनेर त्यसमा केवल टाँसिन पुगेजस्तो देखिन्छ । दलहरूले भुइँ यथार्थ चियाउन सकिरहेका छैनन् । यता आममधेशीजनका आँखामा दलीय कारिन्दाहरू निकै छोटा–छोटा नजर आउँछन् ।

527356634_4176884619230278_139256916015759546_n

यो सन्दर्भलाई सरलीकरण गर्न सकिँदैन । यहाँ मधेशलाई फगत प्रयोग गर्ने, फेरि त्यसलाई कमजोर बनाउने–रहन दिने बेइमानीको मार्मिक चित्र छ । मधेशको आलीमा बसेर आफ्नो खेती किसानी र अर्थ राजनीतिक अवस्थाको गुणा–भाग गरिरहेका एक किसान यस पीडाको चरम सीमालाई यस प्रकार भन्छन्– ‘मधेशको हालत सामान्य छैन ।’

मधेशलाई फोटो स्टेट मेसिनमा राखेर राज्यले रिड्युसवाला बटन थिचिरहन्छ बेलाबखत । मधेश प्रतिपल आफ्नो हैसियत रिड्युस हुँदै आएको अनुभूति गर्न अभिशप्त छ । तर, राजनीतिको चरित्र नफेरिनुको जडबारे कमै विश्लेषण सार्वजनिक वृत्तमा हुन्छ यहाँ । पछिल्ला समयका केही तथ्यांक मात्र देखाएर मधेशको हालतलाई ठम्याउन गाह्रो हुन्छ । सदाबहार नेताहरूका ती उखान–टुक्काहरू जो मधेशमाथि भनिने गरिन्छ, त्यसलाई भुइयाले स्वात्तै खारेज गर्दै आएका छन् ।

बहिष्करणको चक्रव्यूहमा परेका जनगणको ठूलो हिस्सा भित्रभित्रै मुर्मुरिँदै छन् । मधेश घुम्न आउने प्रत्येक नेताहरू एक–एक ‘पगहा’ (त्यो डोरी जसमा गाईबस्तु बाँधिन्छ) छाडेर हिँड्छ । मधेश फगत ‘हैसटैग’ भएको छ । टोकरीभरिका उम्मिदहरूले आकार लेला भन्ने प्रतीक्षामा ती पगहाहरूसँग टाँसिरहन्छन् भुइँमान्छेहरू । शासकीय चरित्र नफेरिने भ्रूण मधेशको भौगोलिक अवस्थितिमा नै रोपिएको छ । उसो भए के यो मधेशको मोहभंगको कालखण्ड आएको हो ?

मधेश झर्नेहरूले यहाँका उम्मिदहरूका अनुसार अच्छा–खराब सपनाहरू बेचे । तर, त्यसको यहाँको राम्रो शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षित भविष्यसँग कुनै सम्बन्ध थिएन । मधेश बुझ्न र अपेक्षित बाटो पहिल्याउन राज्य सत्ता र राष्ट्रियतासम्बन्धी काठमाडौं केन्द्रित मानसको पराभव आवश्यक थियो तर अद्यावधि कायम छ । आज मधेशको सांस्कृतिक विरासत तथा भौगोलिक समृद्धिलाई नष्ट गरिँदै छ ।नेपालको राजनीतिलाई ‘मधेशीमुक्त’ बनाउन खोजिँदै छ । आज संविधान निर्माता दलहरू नै बिर्सिरहेका छन् मधेशीमुक्तको सोझो अर्थ हो लोकतन्त्रमुक्त । मधेशी नेतृत्वलाई दृश्यबाट हटाउन खोज्नु भनेको विपक्षमुक्त । एक दृष्टि, एक लक्ष्य, एक राष्ट्रको कुरा गर्नेहरू वास्तवमा यो नेपाल भूगोलका आत्मालाई मार्न चाहन्छन्, जो अनेक राष्ट्र, भाषा, संस्कृति र दृष्टिहरूको एउटा सुन्दर समूह हो ।

नेपालको इतिहास लेखनमा कैयौं समस्या छन् । यी समस्यामध्ये कतिपय त यस देशको इतिहासका जटिलताका कारण र कैयौं इतिहास लेख्नेवालाका कारण । मधेशको राजनीतिक इतिहासलाई उसका जटिलताका साथ बिनाकुनै विचारधारात्मक आग्रह राखेर हेर्नुपर्ने समय हो यो । एक गलत इतिहास दृष्टिलाई फैलाइएको छ, जो एक सीमित भूखण्ड केन्द्रित दृष्टिलाई नेपालीय बनाएर राखिएको छ । देशज स्मृतिलाई ओझेलमा राखेर वर्तमानका व्यूहलाई बुझ्न सकिँदैन।

अहिलेको बखत द्रुत, अधैर्य र उन्मादी निर्णायक प्रहर हो। तत्कालै ठोकुवा गरिहाल्ने । को दोषी, को राजद्रोही किटान गरिदिने । अचानक राष्ट्रवादी नशामा लट्ठिहाल्ने । जो वर्चस्वशाली छन्, उनैका संयन्त्र सामाजिक सञ्जालमा पोस्ट्स, स्टोरिज, रिल्स, विचार निर्माणका टिप्पणीमा प्रभावी हुन्छन्।

जब नागरिक कर्तव्य बिर्सिन पुगिन्छ, अलिकति पर्खाइ हुँदैन, तब हामी नजानिँदो तरिकाले वर्चस्वशाली सत्तालाई नै ताकतवर बनाइराखेका हुन्छौं । हमला पनि अनेक थरीले गरिन्छ । अख्तर नज्मीको शेर छ– ‘वो जहर देता तो सब की निगाह में आ जाता/सो ये किया कि मुझे वक्त पे दवांए न दीं ।’ अदृश्य हमला । सोझै हमला। जो औपनिवेशिकता कायम राख्नका लागि हुँदै गर्छ, भइरहेको छ, अझै बढी हुँदै गर्छ ।

सत्ताजन्य प्राथमिकता बदलिँदै रहन्छ । दुर्बलताहरू पहिल्याउने मौकाको छनोट, विरोधाभासमा खेल्ने, कठपुतली पात्रलाई सुमसुम्याई राख्ने यिनका मुख्य ल्यान्डमार्क हुन् । असहमतिलाई टाउकोमा गोली हानेर समाप्त पार्ने उही पुरानो बासी तरिकालाई हाल स्थगनमा राख्दै अहिले बिलकुलै लोकतान्त्रिक तरिकाबाट कुल्चिने यत्न गरिन्छ ।

हिजोका सडक संघर्ष गर्नेहरू आज वर्चस्वशालीको स्वार्थ रक्षामा भासिए । जबसम्म बाछिटालाई देखाएर विभेदकारी व्यूह रचिराख्ने छुट वर्चस्वशालीलाई रहिरहन्छ, तब–तब घाँसजस्तै कुल्चिएर, पिल्सिएर वा सुकाइएको अवस्थाबाट कोही न कोही उपेन्द्र यादवहरू टुसाइरहन्छन्, मौका पाएर तन्किरहन्छन् नै ।

वर्चस्वशाली राज्य भएको समाजमा बज्दै गरेको मादलका धुनभन्दा फरक तबला ताल गुन्जाउन खोजियो भने त्यस्तो गर्नेलाई एक्लो पारिन्छ । अक्सर सामाजिक सञ्जालमार्फत ‘ट्रोल’ को सिकार बनाइन्छ, कसैले ‘देशविरोधी’ भन्लान् त कसैले मधेशलाई उक्साउने । तर पनि मधेशको हकिकत बताउने खतराको बाटो रोज्नै पर्छ । मधेश नेपालको अभिन्न हिस्सा हो र मधेश सामान्य नहुन्जेल नेपाल उकासिँदैन । इतिहासदेखि वर्तमानसम्ममा भएका गल्तीलाई अब कसरी सच्याउने भन्ने प्रश्नमा बहस उठ्नै पर्छ । ‘हाइफन’ अंग्रेजी शब्द हो, जो एक प्रकारको लेख्य चिह्न हुन्छ ।

यसले लिखित शब्दलाई जोड्ने काम गर्छ । यसलाई नेपालीमा योजक चिह्न भनिन्छ । समास चिह्न पनि भनिन्छ । यो चिह्नले दुई वा सोभन्दा बढी समान महत्त्वको अर्थ भएका स्वतन्त्र शब्दलाई जोड्ने काम गर्छ । नेपालमा हाइफन पात्रहरूको कमी छैन, तिनीहरू नै प्रचलित भाष्यलाई निफन्न सक्छन् । मधेश जोखिमउन्मुख छ भन्न दक्षिण एसियाकै अमूक क्षेत्रसँग तुलना गरिरहनै पर्दैन, एकफेर मधेशका सूचकांकतिर नियाले हुन्छ । यी खतराका घण्टी समयमै नसुन्ने हो र सुधारको पहल नथाल्ने हो भने संकट भोग्न अब धेरै कुर्नुपर्ने छैन ।

मधेशलाई हेर्ने काठमाडौंको दृष्टिकोण र उसलाई राज्य संयन्त्रमा समावेश गर्ने रवैया कस्तो छ ? पुरानै चस्माका आधारमा मधेशको उन्नति र प्रगति के सम्भव छ ? राज्यको मधेश हेर्ने सोचमा प्रतिरोधी भावना कत्तिको छ ? राज्यको मधेश नीति कसरी निर्धारित हुन्छ ? के कुन तत्त्वले राज्यलाई मधेशबारे सोच्न प्रेरित गर्छ ? बजेट निर्धारणका प्राथमिकता कसरी तय गरिन्छ ?

मुख्य दलहरूका मधेशी स्वर को–को हुन् ? यी दलहरूमा जो–जो मधेशी मुहार छन्, तिनीहरू आफ्नो दलभित्र मधेशको कस्तो चेहरा पस्किरहेका छन् ? तजबिजी अधिकार बोकेको कर्मचारीतन्त्रको मानसिकता अद्यापि कस्तो छ ? मूलधारका मिडियामा विचार निर्माण गर्नेहरूमा कुन समूहका छन् ? दाताहरूलाई फिडब्याक दिने हैसियतमा कुन वर्गका छन् ? इतिहासका तथ्यहरू बग्रेल्ती छन्, जसले स्थापित गर्छ– मधेशको किनारीकरण र गरिबी कसरी पर्याय भयो भन्नेजस्ता प्रश्न काठमाडौंका पोकामा छैनन् ।

मधेशमा सामाजिक असमानताको जुन स्वरूप छ र यो जति व्यापक छ, त्यसले नेपाली लोकतन्त्रलाई कमजोर बनाई दिएको छ । राज्य सत्ताको समतामूलक बंटवारा नभएसम्म लोकतन्त्र फगत चुनावी अंकगणितमा खुम्चिन पुग्छ । मधेशमा थाती रहेका सवाल त जिउँदो छँदै छन्, यससँगै नयाँ–नयाँ असन्तुलन उम्रिएका

छन् । देशको भविष्य मधेशका मुद्दाहरूको लोकतान्त्रिक तरिकाबाट समाधानमाथि निर्भर छ । मधेशका मुद्दाका कुरा गरिराख्दा ती मुद्दा मात्र होइनन्, जो बेलाबखतमा मधेश आश्रित दलहरूले उठाउने गर्छन् ।

मानव विकास सूचकांकमा मधेश कहाँ छ ? सन् २०२६ मा नेपाल कम विकसित मुलुक (एलडीसी) बाट उकासिने प्रक्रिया र मधेशको भुइँ यथार्थबीच तारतम्य कसरी हुन्छ ? सुक्खाको निकै चर्चा भयो तर गम्भीर कुपोषण, स्थायी लिंगभेद र जातिभेद, गुणवत्तायुक्त सार्वजनिक स्वास्थ्य सेवाको अनुपलब्धता, सार्वजनिक शिक्षाको स्तर रसातल पुग्नु, दलितहरूको भूमिहीनताजस्ता समस्याले मधेशको अवस्था खस्किँदो छ । कस्तो समाज बन्दै छ ? थानागिरी र सिडियोशाहीले मधेश अझै मौजा कसरी छ ?

अदालत धाउनु कत्तिको महँगो छ ? अदालतको अग्रसक्रियता के कुन अवस्थामा हुँदो रहेछ ? कुन शक्तिको ओत लाग्यो भने वासिङ मेसिनजस्तो निर्मलीकरणको अवसर आउँछ ? मधेशको दैनिक जीवनलाई प्रभाव पार्ने तत्त्वहरू के–के हुन् ? आर्थिक संरचनामा को हाबी हुँदै छ, को विस्थापनमा परे ? रैथाने उद्यमहरू कसरी धराशायी बने ? रैथाने अन्न कसरी हराए, थाली विषले कसरी भरियो, बीउमाथिको स्वामित्व कसरी गायब गरियो, माटोको मौलिकता कसरी मासियो ?

कथित विकासका मोडलले मधेशमा निम्त्याएको गरिबी र विस्थापनका लागि जिम्मेवार को ? राज्यसँगको सम्बन्ध मापनका लोकतान्त्रिक आधार एउटा पक्ष हो, सँगै मधेशको आन्तरिक जीवन कसरी जेलिँदै गएको छ ? नागरिकता वा मिटरब्याजी समस्या हलका प्रयत्न आममधेशी पिल्सिने नयाँ उपक्रम कसरी बन्दै छन् ?

नेपालमा लोकतन्त्र बचाउने हो भने त्यो नयाँ सोचका आधारबाट नै बाँच्ने हो । सांस्कृतिक विविधतालाई आत्मसात् नगरुन्जेल लोकतन्त्र फगत देखावटी रहिरहन्छ । बहुतहको सरकार छ तर संकथन कसले निर्माण गर्छ ? मधेशको समाज कसरी निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको छ ? मधेशको हालत सामान्य छैन भन्नु केवल राजनीतिक आरोह–अवरोहको विषय होइन । अझै पनि राज्यले सबैथोक गरिदिन्छ भन्ने मनोदशा छ । आफ्नो सामाजिक ‘सफ्ट पावर’ लाई स्वयंले चिन्न र पर्गेल्न सकिरहेको छैन भने किन ?

मधेशमा चिडचिडापन बढ्दै छ । आमजनमा उम्मिद, भविष्य र लड्ने जरुरतका बारे विश्वसनीय तरिकाले बताउने कोही देखिँदैन।

(कान्तिपुरबाट)