सिराहा, ४ भदौ। सिरहा प्रहरीले ७ ग्रामभन्दाबढी ब्राउन सुगरसहित आज बुधबार अपरान्ह तीनजनालाई पक्राउ गरेको छ। सिरहा–चोहर्वा सडक अन्तर्गत विष्णुपुर गाउँपालिका १ बाट ७ ग्राम ३ सय १० मिलिग्राम अवैध लागू पदार्थ ब्राउनसुगरसहित मकवानपुर हेटौंडा उप–महानगरपालिका १५ का ३८ वर्षीय दिनेश सुनार, २९ वर्षिय विशाल गोले र ३८ वर्षिय इन्द्र सुनारलाई पक्राउ गरेको हो। 

सिराहाबाट चौहर्वातर्फ जाँदै गरेको प्र.२–०१–००१ज ००४३ नम्बरको विङ्गरलाई इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएका प्रहरी टोलिले रोकी जाँच गर्ने क्रममा दिनेशको पाइन्टको खल्तीबाट उक्त परीमाणको ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए। 

प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट ४ दिनको म्याद थपगरी आवश्यक  अनुसन्धान गरिरहेको जनाएको छ ।