सिरहा, २९ साउन। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही प्रावधान प्रति असमति जनाउँदै गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन्। प्याब्सन नगर समिति अध्यक्ष रामजिवन सिंहको नेतृत्वमा गएका निजी विद्यालयका संस्थापकहरुको समूहले विहिवार नगरप्रमुख श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन्।

shreejana school

ज्ञापनपत्र बुझाउँदै प्याब्सनका नगरअध्यक्ष सिंहले शिक्षा विधेयकका विवादास्पद बुँदाहरूबारे विस्तृत रूपमा बाचन गरेका थिए। विधेयकमा निजी विद्यालयहरूको सञ्चालन, नियमन र स्वायत्ततामाथि अनावश्यक हस्तक्षेप हुने प्रावधानहरू समावेश भएको भन्दै ती प्रावधानहरू तत्काल संशोधन गर्न पालिकास्तरबाटै सुझाव जानुपर्ने बताए। 

ज्ञापनपत्रमा ‘हाल शिक्षा ऐन २०२८ लाई प्रतिसथापन गर्ने कानुन ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा समावेश गरिएको कानुनी विषयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, भन्ने उल्लेख गरिएको छ। ‘संघिय संसदको  शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिमा अन्तिम चरणमा भएको छलफल र त्यहाँ प्रस्तुत भएका बिचारले हामीलाई अत्यन्तै दुखित एवम् आक्रोशित बनाएको छ। विधेयकमा निजी लगानीमा सञ्चालित विद्यालयहरुलाई क्रमशः गैरनाफामुलक बनाउँदै लैजाने प्रावधान, २०५८ सालमा सरकारले कम्पनी कानुन बमोजिम सञ्चालन गर्न दिने गरी गरेको कानुनी व्यवस्था विपरितत हुनुका साथै, प्रस्तुत विधेयकमा पूर्ण छात्रवृति शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शैशिक सामाग्री, पोशाक, यातायात लगायत उपलब्ध गराउनु पर्ने विषय कम्पनी कानुनको भावना र मर्म विपरित छ।’ प्याव्सनले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।  

निजी लगानीलाई वेवास्ता गर्दै ल्याउन लागेको यस प्रकारको कानुनले व्यक्तिको सम्पतिमाथिको अधिकार समेत हनन् हुने भन्दै यस्ता खालका प्रवधान तत्काल सच्याउनु पर्ने र त्यसको लागि स्थानीय सरकारको साथ र सहयोग आवश्यक रहेको उनीहरुले बताए। 

नगरप्रमुख श्याम कुमार श्रेष्ठले शिक्षाको क्षेत्रमा नीजि विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताए। उनले भने, ‘अहिलेको अवस्थामा निजि विद्यालयविना शिक्षाक्षेत्रको परीकल्पना गर्न सकिन्न, तपाईहरुको जायजमाँगप्रति मेरो साथ सहयोग रहन्छ।’  उनले आफ्नो तर्फबाट गर्नुपर्ने काम तत्काल गर्ने प्रतिबद्धतासमेत जनाए। 

ज्ञापनपत्र बुझाउने क्रममा प्याब्सनका केन्द्रीय सचिव विष्णु न्यौपाने, प्रदेश सदस्यहरु रामवरण यादव, र पुरुषोतम बुढाथोकी, जिल्ला सचिव सुरेश साहसहित दर्जनबढी निजीविद्यालयका संस्थापकहरुको उपस्थिति रहेको थियोे।  

प्याब्सनले आज सिरहासहित देशैभरका स्थानीय तहमा निजीविद्यालयमारा कानुन सच्याउन माँगगर्दै ज्ञापनपत्र बुझाएका छन्।