ज्ञान कुमार राय
सिरहा, १४ साउन। सिरहाको धनगढीमा अपरिचित समूहको हतियार प्रहारवाट एक जेष्ठ नागरिकको हत्या भएको छ। धनगढीमाई नगरपालिका ११ आमटोलका करिब ७५ वर्षीय फनिलाल यादवको गएराती करिव १ बजे घरमै सुतिरहेको अवस्थामा हत्या भएको हो।
ती समूहको हतियार प्रहारबाट यादवको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर घाएभएको परिवारिक स्रोतले जनाएको छ। उनलाई उपचारको लागि रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान लैजाँने क्रममा बाटोमै मृत्यु भएको जनाएका छन्।
घटनापछि प्रहरी समयमै नआएको भन्दै आक्रोशित स्थानीयवासीले आज विहान केहीवेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए।
स्थानीय प्रहरी प्रशासनको लापर्वाही, राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रभावविरुद्ध नाराबाजी गरेका थिए।
हत्याको कारण र संलग्नबारे हालसम्म केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए। घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए।