राजविरज, २२ असार। सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरस्थित सर्पदंश उपचार केन्द्रबाट नेपाली सेनाको जनशक्ति फिर्ता लैजाने निर्णय बिरुद्ध स्थानीयहरु आन्दोलनमा उत्रेका छन्।
नेपाली सेनाको बरख गण भलुवाही ब्यारेक राजविराजले नेपाली सेनाको अपरेशनल आवश्यकताका लागि भन्दै सर्पदंश उपचार केन्द्रमा खटिएका सैनिक जनशक्तिलाई असार मसान्तभित्र फिर्ता हुन निर्देशन दिएको छ।
सेनाको बरख गण भलुवाहीले २०८२ जेठ २० गते सर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति कल्याणपुरलाई पठाएको पत्रमा भनिएको छ,‘‘ सर्पदंश उपचार केन्द्रमा तैनाथ रहेका गणका फौजहरु नेपाली सेनाको अपरेशनल आवश्यकताका कारण मिति २०८२ असार मसान्तभित्र गण हेड क्वाटर भलुवाही ब्यारेक राजविराज फिर्ता गर्ने निर्णय भएको हुदाँ फौज फिर्ता पश्चात उक्त सर्पदंश उपचार केन्द्रमा यस गणको मेडिकल जनशक्ति (२ वा ३) सोही स्थानमा रही उपचार सेवालाई निरन्तरता दिने योजना रहेको हुदाँ त्यस समिति मार्फत उक्त केन्द्र सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक थप जनशक्ति खटाई दिने व्यवस्थाको लागि अनुरोध गरिन्छ।” नेपाली सेनाको सो पचाचार पश्चात संशकित बनेका स्थानीयहरु आन्दोलन सुरु गरेका हुन्।
सैनिक जनशक्तिलाई फिर्ता बोलाएर सर्पदंश उपचार केन्द्र बन्द गराउन वा अन्यत्र नै सार्न लागेको भन्दै स्थानीयहरुले आज विहान केहीबेर पुर्वपश्चिम राजमार्ग अन्तर्गत कल्याणपुरमा चक्काजाम समेत गरेका छन्।
सर्पदंशका बिरामीहरुको उपचारका लागि जिल्लामा रहेको एकमात्र सर्पदंश उपचार केन्द्रबाट सैनिक जनशक्ति फिर्ता बोलाएर उपचार केन्द्र नै अन्यत्र सार्न लागेकोले आफुहरु आन्दोलनमा उत्रिएको खडक नगरपालिकाका स्थानीय नेता तथा समाजसेवी मो. अयुब राईनले जानकारी दिए।
‘‘सप्तरी जिल्लाभरीमा यो एउटा मात्र सर्पदंश उपचार केन्द्र हो, जहाँ सर्पदंशका थुपै्र बिरामीहरुले उपचार पाईरहेका छन्”, उनले भने, ‘‘तर शंकास्पद रुपमा त्यहाँ खटिएका सैनिक जनशिक्तहरुलाई फिर्ता बोलाईएको छ, सैनिकहरु फिर्ता भयो भने कुनै पनि बेला त्यहाँका मेडिकल टिम फिर्ता जान सक्छ, कुनै पनि बेला सर्पदंश उपचार केन्द्र बन्द हुन सक्छ वा अन्यत्र नै सार्न सक्छ।” त्यही भएर हामीहरु संयुक्त संघर्ष समिति बनाएरै नेपाली सेनाको सो निर्णय बिरुद्ध आन्दोलन गर्ने तयारीमा छौं, उनले भने।
दिनप्रति सर्पदंशका घटनाहरु बढिरहेका थप सर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्नेमा सञ्चालनमा रहेको एकमात्र सर्पदंश उपचार केन्द्रलाई पनि अन्यत्र सार्ने नियतबाट सैनिक जनशक्ति फिर्ता लैजाने निर्णय अन्यायपुर्ण रहेको स्थानीयको भनाई छ।
गत २०७६ सालमा स्थापना भएको सो सर्पदंश उपचार केन्द्रबाट हालसम्म दुई हजार भन्दा बढी सर्पदंशका बिरामीहरुले उपचार पाएको सर्पदंश उपचार केन्द्र कञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मो। उस्मानले बताए।
नेपाली सेनाले सर्पदंश उपचार केन्द्रबाट आफ्ना जनशक्ति फिर्ता बोलाउने निर्णय गलत भएको भन्दै स्थानीयहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र समेत बुझाएका छन्।
सर्पदंश उपचार केन्द्रको फौज जनशक्ति यथास्थितिमा राख्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको खडक नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राकेशकुमार साहले बताए।
खडक नगरपालिकाको नगर कार्यपालिकाको बैठकले पनि नेपाली सेनाको फौज फिर्ता भई गएमा सर्पदंश उपचार केन्द्र बन्द हुने र सर्वधारणले आवश्यक सेवा सुबिधाबाट बञ्चित भई सर्पदंश उपचारको ठूलो समस्या आउने भएकाले सम्पुर्ण जनशक्तिलाई यथास्थितिमा राखिदिन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय गरेको वडाअध्यक्ष साहले बताए।