सिरहा, १६ असार। सिरहाको गोलबजार नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ को रुपमा घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित एक विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख तथा जिल्ला खोप समन्वय समितिका सह–संयोजक दिलिप लामाले औपचारिक घोषणा गर्दै खोप अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘पूर्ण खोपको अभियान एकपटकको कार्यक्रम होइन, यो निरन्तर चलिरहने जिम्मेवारी हो। समुदायको सक्रियता र स्वास्थ्यकर्मीहरूको समर्पण नै यसको सफलताको आधार हो।’
कार्यक्रममा उपप्रमुख लामाले गोलबजार नगरपालिका प्रमुख श्याम कुमार श्रेष्ठलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे। सो अवसरमा नगर प्रमुख श्रेष्ठले खोप अभियानलाई सफल बनाउन योगदान दिने सम्पूर्ण कर्मचारी, स्वयंसेविका तथा स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्दै उनले भने, ‘खोप बालबालिकाको जीवनको रक्षा गर्ने सबैभन्दा बलियो ढोका हो। कुनै पनि बालबालिका खोपबाट वञ्चित हुनुहुँदैन। हामीले सबै वडामा यो सुनिश्चित गरेका छौँ, र आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ।’
नगर स्वास्थ्य शाखा प्रमुख सरोज कर्णका अनुसार, राष्ट्रिय खोप तालिकाअनुसार नगरका १३ वटै वडामा खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो। उनले थप जानकारी दिँदै भने, ‘हामीले साउनदेखि पुससम्म नियमित घरभेट सर्वेक्षण गर्दै खोप छुटेका बालबालिकाको पहिचान गरेका थियौं। वैशाख महिनासम्म सबैलाई आवश्यक खोप दिइएपछि यो उपलब्धि सम्भव भएको हो।’
गोलबजार नगरपालिकाले २०७५ सालबाट निरन्तर रुपमा ‘पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका’ घोषणा गर्दै आएको स्वास्थ्य शाखा प्रमुख कर्णले जानकारी दिए।
घोषणाअघि गरिएको घरधुरी सर्वेक्षण, खोप अभिलेख संकलन तथा अभिमुखीकरण अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको कार्यक्रममा जानकारी दिइएको थियो। सो क्रममा खोप सहजीकरणको लागि योगदान गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको थियो।
पालिकास्तरिय पूर्ण खोप सुनिश्चितताबारेमा भूमिका बाँध्दै स्वास्थ्य कार्यालय सिरहाकी खोप अधिकृत सुनिता कडेलले भने, ‘पूर्ण खोप सुनिश्चितता कुनै एक तहको काम होइन, यो समन्वय, लगनशीलता र निरन्तर निगरानीको नतिजा हो।’