सिरहा, १६ असार। प्रादेशिक अस्पताल सिरहाका चिकित्सकहरुले सुरक्षाको माँग गर्दै आकस्मिकबाहेक सबै सेवा ठप्प पारिएको छ। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले शान्ति सुरक्षा सुनिश्चित गर्न माँग गर्दै आकस्मिकबाहेक सबै सेवा बन्द गरेका हुन्।

naraha 12

गत शनिबार सिरहा नगरपालिका ६ का १२ वर्षीय राजन महराको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्त, वडा अध्यक्ष इन्द्रजित यादवसहितका व्यक्तिहरूले आफूरुलाई गालीगलौज र हुलहुज्जत गरेको चिकित्सकहरुले आरोप लगाएका  छन्। सो घटनापछि चिकित्सकहरूले अस्पताल परिसरमा सुरक्षा महसुस नभएको जनाउँदै सेवा ठप्प पारिएको जनाइएका छन्।

चिकित्सकहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आक्रमण हुनु दुःखद् भएको उल्लेख गर्दै दोषीमाथि कडा कारबाही र शान्तिसुरक्षा सुनिश्चित गर्न माँग गरेका छन्। विज्ञप्तिमा चिकित्सकसहित अस्पतालका अन्य कर्मचारीहरूको समेत ऐक्यबद्धता रहेको छ।

सेवा बन्द भएसँगै विभिन्न ठाउँबाट उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्। अस्पतालको ओपीडी कक्ष बन्द छ भने चिकित्सकहरूको कार्यकक्ष पनि ताला लगाइएको छ।

यता, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले ओपीडी सेवा ठप्प भएकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।