काठमाडौं, ११ असार। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशस्थित नेपाली दूतावासहरूमा फोन गर्दा नउठ्ने गुनासोलाई सम्बोधन गर्न नयाँ प्रविधि प्रयोग गर्न लागेको बताएका छन्। निश्चित समयसम्म दूतावासमा फोन नउठे उक्त कल स्वतः नेपालमा रहेको कल सेन्टरमा ‘आईपी बेस्ड फोन’ मार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए।

e556ad47-a251-4463-a7fc-056601c642f7

मंगलबार संसदमा आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भण्डारीले यो व्यवस्थाले विदेशमा समस्यामा परेका नेपालीलाई ठुलो राहत मिल्ने विश्वास व्यक्त गरे।

“कैयौँ बाहिर रहेका नेपालीहरुको गुनासो छ, त्यहाँका एम्बेसीहरुमा फोन उठ्दैनन्,” भण्डारीले भने, “त्यसको लागि अब हामीले एआई र इन्टेलिजेन्सलाई युज गर्दैछौं।”

उनले अगाडि भने, “दूतावासमा फोन उठेन भने निश्चित समयपश्चात त्यो कल नेपालस्थित कल सेन्टरमा आईपी बेस्ड फोन मार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागेको जानकारी म सम्मानित संसदलाई दिन चाहन्छु,” उनले भने। 

यो नयाँ व्यवस्था राष्ट्रिय श्रम बजार सूचना प्रणाली (लेबर मार्केट इन्फर्मेसन सिस्टम) अन्तर्गत लागु गर्न लागिएको हो। यस प्रणालीमा एआई, मसिन लर्निङ जस्ता नयाँ प्रविधि प्रयोग गरी स्वदेश तथा विदेशमा रहेका नेपालीलाई एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे।

श्रमसम्बन्धी जानकारी प्रवाहका लागि ‘श्रम सञ्चार’ पोर्टललाई मोबाइल एपको रूपमा विकास गरिएको बताउँदै उनले सीपयुक्त श्रमिक उत्पादन गर्न मागअनुसारको तालिम सञ्चालन गर्ने कार्यक्रम अघि सारिएको पनि बताए।