सिरहा, ११ असार। विद्युतिय करेन्ट लागेर सिरहाको गोलबजारमा एक बालकको मृत्यु भएको छ। आफ्नै खेतमा सिञ्चाई गर्न प्रयोग गरिएको मोटरमा करेन्ट लागेर गोलबजार १२ बेतौनाका रामकरण महतोको छोरा करिव ७ वर्षिय लभ कुमार महतोको ज्यान गएको हो।
घटनाको पूर्ण विवरण प्राप्त नभईसकेको बताउँदै पानी पटाउन अभिभावकसँगै खेतमा गएका बालकलाई खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको खवर प्राप्त भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर गोविन्द प्रसाद साहले जानकारी दिए।
उनले घटनाबारे अनुसन्धान भईरको र पोष्टमार्टमको रिपोर्टपछिमात्र विशेष जानकारी हुने बताए।
शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान लगिएको छ।
गत सोमबार पनि गोलबजार नगरपालिका १३ दुर्गापुरका ६२ वर्षीय रामपृत पण्डितको खेत सिञ्चाई गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो।
