सिरहा, १० असार। सिरहाको लहानबाट प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका २ मटिअर्वाबाट संयुक्त प्रहरी टोलीले सोमबार बेलुका १७ ग्राम ४९ मिलि ग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहा, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले  स्थानीय बिवेक यादवको घरमा छापा मारी खानतलासी गर्दा कालो प्लास्टिकको सानो पोका भित्र खैरो हेरोइन जस्तो देखिने बस्तु र एक थान डिजिटल तराजु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए। 

पक्राउ पर्नेमा लहान २ मटिअर्वाका २३ वर्षीय बिवेक यादव, लहान १ का २० वर्षीय सुरेश कुमार साह सुडी र लहान २ का २७ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन्।

प्रहरीका अनुसार बिवेक यादवको साथबाट दुई थान मोबाइल बरामद गरिएको छ। त्यस्तै, सुरेश कुमार साह सुडीको साथबाट १७ ग्राम ४१ मिलि ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र एक थान मोबाइल बरामद भएको प्रहरीको भनाई रहेको छ। राजकुमार विश्वकर्माको साथबाट पनि एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।