जनकपुर धाम, २७ जेठ।  मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत पारित भएको छ।

मंगलबार बसेको प्रदेशसभा बैठकले ध्वनि मतबाट नीति तथा कार्यक्रम अनुमोदन गरेको हो। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमार्फत प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव मुख्यमन्त्री सतिशकुमार सिंहले बैठकमा पेस गरेका थिए।

नीति तथा कार्यक्रममाथि दुई दिनसम्म छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ मुख्यमन्त्री सिंहले मंगलबार बैठकमै दिएका थिए।

प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ प्रस्ताव पेस गर्दा विपक्षमा कसैले पनि मत नदिएपछि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका हुन्।

यसअघि चार जना सांसदले नीति तथा कार्यक्रममा संशोधनको लागि प्रस्ताव दर्ता गराएका थिए। सभामुख मण्डलले ती प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। ती संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए।