जनकपुरधाम, २३ जेठ। मधेश प्रदेश सरकारको तर्फबाट आज निती तथा कार्यक्रम प्रस्तुत गरेको छ। मधेस प्रदेशसभाको पाँचौं अधिवेशन अन्तर्गत शुक्रवार बसेको प्रदेशसभाको बैठकमा मधेस प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८२/०८३को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

‘आत्मनिर्भर र समृद्ध मधेस, सुखी मधेसी’ भन्ने मूल सोचलाई केन्द्रमा राखेर ल्याइएको नीति तथा कार्यक्रम तयार गर्दा मधेस प्रदेश सरकारले नेपालको संविधान , सङ्घीय सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम, नेपाल सरकारद्वारा गठन गरिएको उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावहरू, १६औँ आवधिक योजना, विभिन्न दीर्घकालीन क्षेत्रगत नीतिहरू, दिगो विकासका लक्ष्यहरू, नेपाल सरकारका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू, मधेस प्रदेशको दोस्रो आवधिक योजना, मध्यकालिक खर्च संरचना लगायतका दूरगामी महत्वका दस्ताबेजहरूलाई मार्गदर्शकका रूपमा अवलम्बन गरेको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, शिक्षा ,स्वास्थ्य, वन तथा वातावरण र पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिइएको छ। कृषिलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा स्वीकार गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउन मधेस ले देशलाई खुवाउने अभियानलाई केन्द्रमा राखी उत्पादन मधेसमा ,विस्तार देशमा नारालाई आत्मसाथ गर्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषिजन्य आयातलाई न्यूनीकरण गरी निर्यातमा जोड दिने उल्लेख गरिएको छ। मधेसको शान स्थानीय मखान नारालाई आत्मसाथ गर्दै मखान खेतीको विकास तथा विस्तार गरी प्रशोधन ,प्याकेजिंग, लेवलिंग तथा ब्राण्डिंग लगायतका कार्यहरूमा प्रोत्साहन गरिने उल्लेख छ।

त्यसै गरी मधेस प्रदेशको आठ वटै जिल्लामा आँपको क्षेत्र विस्तार गर्ने , पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडी बढाइने, रोजगार अभिवृद्धि कार्यक्रम सञ्चालनमा ल्याइने , शिक्षामा बालबालिकाको पहुँचको लागि प्रदेश साक्षर अभियानका कार्यक्रमहरू अगाडी बढाइने, मेरो स्वास्थ्य मेरो जिम्मेवारी  तथा स्वास्थ्य नागरिक समृद्ध प्रदेश अभियानलाई  प्राथमिकतामा राख्ने , महिला हिंसा तथा भेदभाव अन्तगरी महिला सशक्तीकरण गर्न बेटी जिन्दाबाद अभियानलाई सञ्चालन गरिने, मधेस प्रदेश पर्यटन प्रवर्द्धनका लागि घुमौँ मधेस  बुझौँ मधेस नारालाई आत्मसाथ गरी मधेस भ्रमण वर्ष २०८३ अभियान सञ्चालन गरिने उल्लेख छ। त्यसै गरी नीति तथा कार्यक्रममा चुरे जोगाउ मधेस बचाउ नाराका साथ मुख्यमन्त्री हरियाली प्रवर्द्धन अभियानलाई अगाडी बढाउने,  गुनासो , सुझाव तथा समस्या समाधानका लागि हेलो मुख्यमन्त्री अभियानलाई प्राथमिकताका साथ लागु गर्ने, प्रदेशको बजेट विनियोजन र खर्चको पारदर्शिता प्रवर्द्धन तथा लेखाजोखा गर्न मेरो  पैसा कहाँ जान्छ अभियान सञ्चालन गर्ने उल्लेख छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा जनकपुरधामलाई हरित सहरको रूपमा विकास गरी माता जानकीको विवाह स्थल जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विवाह केन्द्रको रूपमा विकसित गरिने उल्लेख छ।  प्रदेश सरकारले नीति तथा कार्यक्रममा सघन कृषि वन कार्यक्रम, एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम ,वित्तीय सुधार कार्यक्रम ,एक गाउँ एक उत्पादन कार्यक्रम, एक निर्वाचन क्षेत्र एक रोजगार केन्द्र स्थापना , लोपोन्मुख वनस्पतिको संरक्षण गर्ने कार्यक्रम , जल वृक्ष कार्यक्रम अन्तर्गत कमलको बिउँ छर्किने कार्यक्रम, एक घर एक विद्युतीय चुलो अभियान अन्तर्गत ग्यास चुलो कार्यक्रम , गरिब जेहेन्दारका लागि सिप विकास छात्रवृत्ति कार्यक्रम ,मुख्यमन्त्री रोजगार प्रवर्द्धन कार्यक्रम, विद्यार्थीको साथ मुख्यमन्त्री कार्यक्रम जस्ता नयाँ  कार्यक्रमहरू प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ भने विगतमा सञ्चालनमा रहेको बेटी पढाउ बेटी बचाउ , एक निर्वाचन क्षेत्र एक कालोपत्रे सडक, ज्येष्ठ नागरिक उपचार कार्यक्रम , मुख्यमन्त्री घरदैलो स्वास्थ्य सेवा कार्यक्रम जस्ता विगतका कार्यक्रमहरूलाई नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ।