काठमाडौं, १७ जेठ। वित्तीय सेवा प्रदायक आईएमईको नाम दुरुपयोग गरी ‘आईएमई८८’ नामक एक अनलाइन सट्टेबाजी प्लेटफर्म सञ्चालनमा आएको पाइएको छ। नेपालको कानुनले अनलाइन वा भौतिक जुनसुकै माध्यमबाट गरिने जुवा तथा सट्टेबाजीलाई पूर्ण प्रतिबन्ध लगाएको भए तापनि उक्त प्लेटफर्मले आईएमईको नाम जोड्दै खुलेआम बेटिङको प्रचार गरिरहेको पाइएको हो।

‘आईएमई८८’ ले हालै आफ्नो फेसबुक पेजमार्फत एक भिडिओ सामग्री सार्वजनिक गर्दै प्रचार गरेको थियो। उक्त भिडिओमा “नेपालमा आम्दानी गर्न सकिने एप ‘आईएमई८८’ भएको र आईएमई प्रयोगकर्तालाई बोनस समेत पाइने” जस्ता भ्रामक दाबी गरिएका छन्। सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको सो भिडिओमा १५ हजारभन्दा बढी रियाक्सन, ७४ भन्दा बढी कमेन्ट र १४ लाखभन्दा बढी भ्युज पुगेको देखिन्छ। 

त्यसबाहेक यस प्लेटफर्मले आफ्नो वेबसाइटमा आफूलाई नेपालमा ‘गेमिङ लाइसेन्स’ प्राप्त संस्था भएको दाबी गरेको छ । वेबसाइटको ‘बारम्बार सोधिने प्रश्न (FAQs)’ खण्डमा ‘के आईएमई ८८ नेपालमा कानुनी छ ?’ भन्ने प्रश्नको जवाफमा ‘हो, आईएमई ८८’ एक मान्य गेमिङ लाइसेन्स अन्तर्गत सञ्चालन हुन्छ र नेपालमा खेलाडीका लागि सुरक्षित, निष्पक्ष र कानुनी अनलाइन गेमिङ सुनिश्चित गर्न अन्तर्राष्ट्रिय नियमको पालना गर्दछ’ भनी उल्लेख गरिएको छ। यो सरासर झुटो हो। नेपाल सरकारले कुनै पनि कम्पनीलाई ‘नेपालीलाई जुवा वा अनलाइन सट्टेबाजी खेलाऊ’ भन्दै कुनै पनि किसिमको अनुमतिपत्र दिंदैन। 

उक्त प्लेटफर्मले अनलाइन स्लट, लाइभ क्यासिनो, खेल सट्टेबाजी, माछा मार्ने खेल, कार्ड गेम लगायतका विभिन्न मनोरञ्जनात्मक विकल्पहरू प्रदान गर्ने बताएको छ। यसले ई-वालेट, बैंक ट्रान्सफर र क्यूआर भुक्तानी जस्ता स्थानीय भुक्तानी विधि प्रयोग गरेर रकम जम्मा गर्न सकिने र जितिएको रकम सजिलै झिक्न सकिने भन्दै प्रयोगकर्तालाई आकर्षित गर्ने प्रयास गरेको छ। साथै विभिन्न किसिमका बोनसको आश देखाएर प्रलोभनमा पारेको देखिन्छ। उक्त प्लेटफर्मको प्रचारमा नेपालीभाषी भारतीय मोडेल डिकिला शेर्पा संलग्न रहेको देखिएको छ। उक्त प्लेटफर्मको ह्वाट्सएप च्यानलमा मोडेल शेर्पाले ‘सजिलै घरमा बसेर जित्न सकिने’ भन्दै प्रचार गरेकी छिन्।