सिरहा, ८ जेठ। नेकपा (माओवादी केन्द्र) सिरहामा गुटगत राजनीति फेरी एक पटक छत्ताछुल्ल भएको छ। योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल, सिरहाको जिल्ला सम्मेलनमा देखिएको मत–भिन्नताले पार्टीको गुट फेरी एक पटक सतहमा देखिएको छ। 

mount school

वाईसीएलले आज जेठ ८ गते बिहान ८ बजे मिर्चैया नगरपालिका ६ स्थित होटल होलिडेमा जिल्ला सम्मेलनको आयोजना गरेको छ। सम्मेलनको प्रमुख अतिथी पार्टीका जिल्ला इन्चार्ज अजयशंकर नायक (अभिनास) नै सम्मेलनबारे बेखवर रहेका बताए। उनले भने, ‘वाईसीएलको कुनै कार्यरम मिर्चैयामा रहेको मलाई जानकारी छैन। कसैले सम्मेलनको बारेमा प्रचार गरेको भए त्यो  वास्तविकता होइन, झुठो प्रचार हो।’ इन्चार्ज नायकले झुठको पछाडी नलाग्न सुझाए। 

पार्टीका जिल्ला इन्चार्ज नायकले यस्ता भ्रामक र अनुशासहिन गतिविधिले संगठनको छवि बिगार्ने खतरा रहेको भन्दै यसबारेमा उचित छानविन हुने पनि बताए।

पार्टीका अर्का नेता केन्द्रिय सदस्य जगत प्रसाद यादवले भने वाईसीएलको जिल्ला सम्मेलन मिर्चैयामा भईरहेको बताए। उनले भने, ‘वाईसीएल पार्टीको भात्रि संगठन भएपनि उनको आफ्नै केही स्वायतता छ। उनीहरुले कार्यक्रमको आयोजना गरेको छ। म पनि त्यहि कार्यक्रममा सहभागी हुन मिर्चैया आएको छु।’

नेता यादवले संगठनले बहुमतको निर्णय अनुसार आज सम्मेलनको आयोजना भईरहेको बनि बताए। उनले भने, ‘संगठनले सवै प्रकृया पुरा गरेर सम्मेलनको आयोजना गरेको छ। यसमा कतिपयको असहमति पनि होला। सवैलाई सहमति गराउन पनि सकिन्न। त्यसैले संगठनको विधी विधान अनुसार नै सम्मेलन भईरहेको छ।’

वाईसीएलका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मनोज पासवानले पार्टीका नेताहरुकै सल्लाह र सुझाव अनुसार आज जिल्ला सम्मेलनको आयोजना गरेको दावी गरे। ‘हामीले यहि जेठ २ गते नै जिल्ला सम्मेलनको आयोजना गरेका थियौं,  अन्तिम समयमा आएर पार्टीका जिल्ला इन्चार्जले स्थगित गर्ने निर्देशन दिनुभयो हामीले स्थगित गर्यौं; वाईसीयल इन्चार्ज पासवानले भने, ‘आज पनि पार्टीको सल्लाहमै जिल्ला सम्मेलनको आयोजना गरेका हौं। राती देखि फेरी विभिन्न नेताहरुले स्थतिगको लागि दवाव दिईरहनु भएको छ। ८ बजेबाटै हुने भनेको कार्यक्रम १० बजिसक्दा पनि अझै अन्यौल भईरहेको छ। तर आज जसरी पनि सम्मेलन हुन्छ।’

उनले हामीले गलत गरेको भए पार्टीका नेताहरुले खुलस्त भन्नु पर्ने हो तर, हामीलाई गुमराहामा राखिरहेको बताए। उनले भने, ‘अव यसरी सधैभरी गुमराहामा राख्न मिल्दैन, संगठनलाई एउटा दिशा दिने हो। कार्वाही गरेपनि भोग्न तयार छौं।’

जिल्लाका सवै पालिकाको सम्मेलनहरु नसकिदै निस्चित नेताको उस्काहटका यो कार्यक्रम भईरहेको जिल्लाकै एक केन्द्रिय सदस्यले बताए। उनले जिल्लामाभएका पार्टीका केन्द्रिय सदस्यहरुलाई समेत बाईपास गरेर वाईसीएलको जिल्ला सम्मेलन भईरहको बताए।