सिरहा, २६ बैशाख। सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा एक सुत्केरीको उपचारको क्रममा मृत्यु भएको छ। सिरहाकै मिर्चैया नगरपालिका ११, सीतापुरकी करिव ३० वर्षीया रामकाशी यादवको शनिबार बिहान मृत्यु भएको हो।

सुत्केरी व्याथा लागेपछि रामकाशीलाई शुक्रबार बिहान बर्धमान अस्पताल लगेका थिए। अस्पतालले दिउँसो १२ बजेतिर शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। यसअघि दुई छोरी सल्यक्रियाबाटै भएको थियो। यो पटक भने उनले छोराको जन्म दिएकी थिइन्। छोराको अनुहार हेर्नै नपाई उनको ज्यान गयो। 

3082b3fa-f909-481e-9799-623df28d9e06

शल्यक्रिया गरेर बच्चा निकालेपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको रामकाशीलाई परिवारले बाहिर लान खोजेपनि अस्पतालले रिफर नगरेको आरोप लगाएको छ। अस्पतालले यहि ठीक भइहाल्छ भनेर अल्झाएर राखेपनि अवस्था गम्भिर भएपछि शनिबार बिहान २ बजेतिर मात्र यहाँबाट विराटनगरको लागि रिफर गरेको थियो।

mount school

शनिबार बिहान साढे ५ बजेतिर विराटनगरस्थित न्युरो अस्पताल पुर्याएपनि तत्काल मृत घोषणा गरेको मृतकका श्रीमान् सन्त यादवले बताए। उनले भने, ‘हामी बिहान २ बजे यहाँबाट हिँडेका थियौं, ५ बजे विराटनगर पुगयौं। त्यहाँका चिकित्सकले अस्पताल पुग्नुअघि नै बिरामीको मृत्यु भईसकेको सुनाए।’

अस्पतालले अन्तिम अवस्थामा रिफर गरेको भन्दै आक्रोस श्रीमान यादवले व्यक्त गरेका छन्। यो घटनाको जिम्मा अस्पतालले नै लिनुपर्ने उनको भनाइ छ। उनले शल्यक्रियाका क्रममा चिकित्सकको लापरबाहीका कारण रामकाशीको शरीरबाट धेरै रगत बगेको कारण मृत्यु भएको आरोप लगाए।

बच्चाको अवस्था भने सामान्य रहेको उनले बताए।

अस्पतालकै लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै परिवारजनले अस्पताल अगाडि केही वेर राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका थिए। पीडित परिवारको प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका शल्यक्रियामा संलग्न डा. तेजशंकर यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

सञ्चालक यादवलाई कार्यालयमा ल्याएर सोधपुछ गर्ने काम र घटनाको अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए। 

उनका अनुसार शवलाई पोष्टमार्टमका लागि धरान पठाउने तयार भइरहेको छ। थप अनुसन्धानका लागि अस्पतालका डकुमेन्ट पनि झिकाउने कार्य भईहेको बताए।   

यस विषयमा अस्पताल प्रशासनसँग सम्पर्क गरेपनि सम्पर्कमा आउन चाहेनन्।