सिरहा, ९ बैशाख। सिरहा प्रहरीले किर्ते जालसाजी मुद्दामा पूर्व वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका वडा २ का पूर्व वडा अध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको हो। 

SHREEJANA SCHOOL GBR6

सोमवार बिहान साहलाई लुकिछिपी बसिरहेको अवस्थामा आफ्नै घरमा ईलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। प्रहरीले साहमाथि किर्ते जालसाजीको पुरानो मुद्दा रहेको र त्यससम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको जानकारी दिए।

२०८० माघ १९ गते नवराजपुर २ को पुर्व वडा अध्यक्ष साहमाथि वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादबको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप समेत किर्ते गरेको मालपोत कार्यालयलाई सम्वोधन गरेको पत्र तयार पारेको आरोप लागेको छ।  

साह स्थानिय तहको पहिलो निर्वाचन २०७४ मा नेपाली काङग्रेसबाट नवराजपुर गाँउपालिका वडा नम्बर २ मा निवार्चित भएका थिए। पार्टीले टिकट नदिए पछि दोस्रो निर्वाचन २०७९ माभने नेकपा एमाले प्रवेश गरी गाँपा अध्यक्षमा लडेका थिए। 

पुर्व वडा अध्यक्ष साहले वडाको पुरानै लेटरहेड प्रयोग गरी हस्ताक्षर र वडा कार्यालयको सरकारी छाप समेत किर्ते गरी उनको आफनै आमा कुलमतिया देवीलाई चारकिल्लाको सिफारिस गरिदिएको पाइएपछि घटना बाहिरिएको हो। पुर्व वडाअध्यक्ष साहले मालपोत कार्यालयमा किर्ते गरी कागजात पेश गरी जग्गा आफ्नो नाममा दर्ता गराएको खुलेको छ।

सरकारी कागजातमा ठगी, कागज किर्ते र आपराधिक मनसायले झुटो विवरण पेश गरी जग्गा आफनो नाममा नामसारी गराएको जानकारी आएपछि  २०८० फागुन १३ गते ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा अध्यक्ष सुरेश कुमार यादवले सरकारी कागजात किर्ते र ठगी गरेको प्रमाण सहित आवश्यक कार्यवाहीको लागी निवेदन दिएका थिए। 

साहले सरकारी कागजातमा किर्ते गरेको आरोपमा उजुरी परे पछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी  बीरेन्द्र कुमार पासवानले जानकारी दिए। उनका अनुसार अनुसन्धानको क्रममा प्राप्त प्रमाण र प्रयोगशालाको प्रतिवेदनका आधारमा साहलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो।