ताप्लेजुङ, ८ बैशाख। ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि  तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका १० तेर्सेको सेवारो चोकमा सोमबार बिहान ५ बजेतिर करेन्ट लागेर आगलागी हुँदा जिप चालक फुङलिङ घर भएका ४५ वर्षीय दुर्गा भट्टराईसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।

maont school 04

आगोले जलेर ललितपुर घर भएकी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर १५ का ७० वर्षीय विनोद पौडेल, ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका १० फुरुम्बुका ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको ताप्लेजुङका इन्स्पेक्टर विबेक बस्नेतले जानकारी दिए।

जलेर ४५ वर्षीया सविना आचार्य (संध्या) र उनका ९ वर्षीय छोरा अभियव आचार्य घाइते भएका छन्। तीर्थयात्रीहरु सवै आफन्तहरु नै रहेको प्रहरीले जनाएको छ। 

तीर्थयात्रीहरू ललितपुर र झापाबाट पाथीभरा दर्शनका लागि आएको पाइएको प्रहरीको भनाई छ।  

प्रहरीका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ। ‘बिजुलीको पोलबाट लत्रिएको तारले आगलागी भएको अनुमान छ। घटनास्थलमा ४ जनाको मृत्यु भएको छ। अरु २ जना घाइतेलाई थप उपचारको लागि काठमाडौं लाने तयारी भईरहेको छ।