सिरहा, २९ चैत। शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासबाट नै विद्यालय उत्कृष्ट बन्ने अभिभावकहरुले बताएका छन्। सृजना सेकेन्ड्री स्कूल, गोलबजार ६ स्थित विद्यालय प्राङ्गणमा शुक्रबार आयोजना गरेको ‘अभिभावक अन्तकृया कार्यक्रम २०८१’मा सहभागी अभिभावकहरुले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सहकार्यमा राम्रो विद्यालय बन्ने बताएका हुन्।
अभिभावकहरुले विद्यालयको एक्लो प्रयासबाटमात्र शिक्षामा गुणस्तर कायम गर्न मुस्किल हुने बताए। उनीहरुले भने, ‘एउटा राम्रो विद्यालय बनाउन शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयास आवश्यक हुन्छ। सवैमा आ–आफ्नो अधिकार र कर्तव्य बोध हुन आवश्यक छ।’
अन्तरकृया कार्यक्रममा पूर्वशिक्षक गंगाप्रासद साहले प्रविधियुक्त शिक्षण विधि अपनाउँदै विद्यार्थीलाई सृजनशिल, व्यसायीक तथा व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिए।
अभिभावक औतारी लामाले सृजना सेकेन्ड्री स्कूलले निरन्तर उत्कृष्ट नतिजा दिदै आएको स्मरण गरे। उनले हामी अभिभावक यहाँको उत्कृष्ट नतिजाले नै आकर्षित भएको बताउँदै अवका दिनमा विद्यालयले विद्यार्थीको खानपान, स्वास्थ्य तथा अन्य अतिरिक्त कृयाकलापहरुमा विशेष जोड दिनुपर्ने बताए।
अर्का अभिभावक खुशवु अग्रवालले विद्यालयले अभिभावका सुझावलाई सकारात्मक रुपमा लिने गरेको प्रति खुसि व्यक्त गरे। उनलेभने, ‘विद्यालयले विद्यार्थीको पठन पाठनसँगै अतिरिक्त कृयाकलापमा पनि उत्तिकै ध्यान दिने गरेको छ। र, अभिभावकले दिने सुभावलाई सकारात्मक रुपमा लिने र कार्यान्वयन पनि गर्ने गरेको छ।’
अभिभावक अन्तकृया कार्यक्रममा विद्यालयका प्रिन्सिपल निरज पाख्रिनले अभिभावकहरुका सुझावलाई आफूले सकारात्मक रुपमा लिएको बताए। उनले भने, ‘हामी सवैको एउटै उद्देश्य विद्यालय कसरी राम्रो बनाउने भन्ने हो। मैले सम्पूर्ण अभिभावकहरुको धारणालाई सकारात्मक रुपमा लिएको छु।’
सोही क्रममा प्रिन्सिपल पाख्रिनले हाम्रो विद्यालयले सँधै अभिभावक, विद्यार्थीको चाहाना अनुसार शिक्षालाई आधुनिक, प्रविधिमैत्रि तथा विश्व बजारमा विक्न सक्ने जनशक्ति तयार गर्ने सोच र योजनाकासाथ कामगरिरहेको बताए। उनले गोलबजार शिक्षाको हवको रुपमा विकास भईरहेकाले अव गुणस्तरीय तथा विश्व बजारले माँगेजस्तो जनशक्ति तयार गर्नेगरी शिक्षा दिनुपर्ने समय आईसकेको जिकिर गरे।