मणिलाल विश्वकर्मा

लहान, २८ चैत। भित्र्याउन लागेको गहुँ बालीमा हावाहुरीसँगै आएको पानीले क्षति पुर्याएको छ। काट्ने तयारी गरिएको, कटिसकेको गहुँ पानीले भिजेपछि किसान चिन्तित भएका छन्। 

santi nikunja 2082

हावाहुरीसँगै बुधबार राती परेको पानी बारीमा जमेर गहुँ भिजेपछि भित्र्याउन समस्या भएको सिरहाको लहान नगरपालिका १९ का किसान रामउद्गार साहले गुनासो गरे। ‘गहुँ छरेदेखि फल्ने बेलासम्म पानी परेन’ उनले भने ‘बोरिङ्को पानी पटाएर उब्जाएको गहुुँ भित्र्याउने बेलामा बर्खाले बिगार्यो।’

मधेश प्रदेश सरकार मातहत रहेको कृषि ज्ञान केन्द्र सिरहाले जिल्लाका १७ स्थानीय तहहरुमा गए राती हुरीबतास र बर्खाले भित्र्याउन लागेको गहँुमा क्षति पुगेको जनाएको छ। केन्द्रकी सूचना अधिकारी किरण विश्वकर्माले सम्बन्धित पालिका अन्तर्गत रहेका कृषि शाखाहरुमार्फत् हुरीबतास र बर्खाले गहँुमा पुर्याएको क्षतिको बारेमा बुझ्ने काम भइरहेको बताइन्। 

उनका अनुसार गत वर्ष जिल्लामा २२ हजार हेक्टरमा गरिएको गहुँको उत्पादन ५२ हजार आठ सय मेट्रिक टन भएको थियो। ‘यो पल्ट गत वर्षको तुलनामा करिब पाँच प्रतिशत बढी उत्पादन हुने अनुमान गरिएको छ’ उनले भनिन् ‘उत्पादन भएको पनि हो तर बर्खाले केही क्षति पुर्यायो।’