सिरहा, २६ चैत। पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत अलपत्र अवस्थामा रहेको कमला पुलको अवस्थाबारे प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण गराउन सिराहा नगरपालिका ६ बसबिट्टाका जनप्रतिनिधि र स्थानीय युवाहरूले कालो झन्डा प्रदर्शन गरेका छन्। सिराहा ६ का वडाध्यक्ष इन्द्रजित यादवको नेतृत्वमा स्थानीय युवाले कमला पुल पुनर्निर्माणको माँग गर्दै मंगलबार अपरान्ह कालो झन्डा प्रदर्शन गरेका हुन्।
सत्तारूढ दल नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले करिब ६ वर्षअघि गरेको प्रतिबद्धता स्मरण गराउँदै पुनर्निर्माणको काम छिटो सिध्याउन कालो झन्डा प्रदर्शन गरेको यादवले बताए।
‘हेलिकोप्टर चढेर सिराहा आउने प्रधानमन्त्री ओलीले कालो झँडा त देख्दैनन्, तर उनका पार्टीका नेता–कार्यकर्ता कार्यक्रममा सहभागी हुन जाने भएकाले सांकेतिक विरोधस्वरूप दबाबका लागि कालो झन्डा देखाइएको हो,’ सिराहा ६ बसबिट्टाका वडाध्यक्ष इन्द्रजित यादवले भने। प्रधानमन्त्री ओली मंगलबार दिउँसो एमालेको ११ औँ जिल्ला अधिवेशन उद्घाटन गर्न सिारहा आएका छन्।
सिराहाको चन्द्र (प्राविधिक) माविमा १९ माघ ०७५ मा आयोजित सहिद हेमनारायण यादवको स्मृतिलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले २ वैशाख ०७७ भित्र नै पुलको काम सम्पन्न हुने दाबी गर्दै भनेका थिए, ‘पुलसँगै हुलाकी सडक पनि युद्धस्तरमा बनाइनेछ, मुलुकको कार्यकारी प्रमुख र विभागीय मन्त्रीले कबोल गरेपछि पुल र सडकका लागि भोको पेटमा अब अनशन बस्नुपर्दैन।’
प्रधानमन्त्री ओलीले कबोल गरेको करिब ६ वर्ष बित्दै गर्दा अझै पूर्वी धनुषा र सिराहासहित हुलाकी सडक हुँदै ओहोरदोहोर गर्नेहरू वर्षौँदेखि हिउँदमा बाँसको अस्थायी पुल र बर्खामा डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।