बर्दिया, २५ चैत। अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने पक्का भएको छ।
सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी नेतृत्वको उन्मुक्ति बिचमा एकीकरण हुने पक्का भएको हो।
बैशाख १५ गते एक बिशेष समारोहका बिचमा एकीकरणको औपचारिक घोषणा गरिने जनमतका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।
उनका अनुसार एकीकरण पछी पार्टीको नाम नागरिक जनमत र चुनाव चिह्न ढकिया राख्ने पनि सहमति भएको छ। आइतबार अबेरसम्म बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो।
खानका अनुसार पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहनेछन भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने पनि सहमति भएको छ।
निर्वाचन क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ भने चितवनदेखि पश्चिमसम्म चौधरीलाई जिम्मेवारी दिइने भएको छ।
पार्टी एकीकरणका लागि वैशाख ५ र ६ मा टीकापुरमा नाउपाको बैठक बस्ने तथा सो एक साता भित्रमा जनमतको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्ने गरी एकीकरणको तयारी तिब्र पारिएको छ।