सिरहा, २४ चैत। सिरहा प्रहरीले जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागुपदार्थ ब्राउन सुगरसहित पाँच जना नियन्त्रणमा लिएका छन्। प्रहरीले सिरहाको लहान र सिरहा सदरमुकामबाट ५७ ग्राम  ८७ मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई नियन्त्रणमा लिएका हुन्। 

लहान नगरपालिका ३ अस्पताल चोकबाट करिब ३३ ग्राम ब्राउनसुगरसहित तीन जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका ९ का २१ वर्षीय पवन साह, सोही नगरपालिका ८ का २१ वर्षीय लालबाबु राय र २३ वर्षीय अंकेश महतो रहेका जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। 

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ हो। 

त्यसैगरी, सिरहा नगरपालिका १४ लच्काबाट करिब २३ ग्राम ९५ मिलिग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका ११ का २१ वर्षीय सुनिल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले ना. ४ ख ४७१३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।  

सोही स्थानबाट करिब ९ सय २० मिलिग्राम ब्राउन सुगरसहित शनिबार साँझ मिर्चौया नगरपालिका ८ का १९ वर्षीय सुशान्त पंजियार र सोही नगरपालिका ५ का २० वर्षीय बिजय महतोलाई प्रहरीले पक्राउ गरेका छन्। 

प्रहरी चौकी खिरौना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले भारत जयनगरबाट सिराहातर्फ आउँदै गरेको म प्र.०१–००५ प २०३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।