सिरहा, ९ चैत। सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारलाई विस्थापित गरेको घटनामा पीडित परिवारले जातिय भेदभाव विरुद्ध जाहेरी दर्ता गराएका छन्। दलित अगुवासहित पुगेका औरही गाउँपालिका ५ का पीडित दिपक पलिकले जिल्ला प्रहरी कार्यालय, सिरहामा जातिय भेदभाव तथा छुवाछुत सम्वन्धि कसुरमा जाहेरी दर्ता गराएका हुन्।

पीडित दीपक मलिकले दिएको जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पीडितले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएर जाहेरी दर्ता गराएका हुन्।
मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ४ को उपदफा (३) बमोजिम जाहेरी दरखास्त दर्ता भएको औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानले जानकारी दिए।
उनका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुनबमोजिम कारबाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माँग गरिएको छ। पीडित परिवारको जाहेरी प्राप्त भएसँगै कानुनी कारबाही प्रक्रिया अघि बढेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।
चैत १७ देखि आयोजना हुने भनिएको विष्णु महायज्ञका लाग्ने भएको छ। महायज्ञ लाग्ने स्थानमा रहेको दिपकको घर फागुन १० मा अछूत भन्दै बजरंगी बाबाको दिर्नेशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादवले डोजर लगाएर घर भत्काइदिएका थिए।
यस घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार साँझ मात्रै प्रहरीले पक्राउ गरी सकेको छ। । बजरंगी बाबा भने फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरीले जनाएको छ।






















