सिरहा, ८ चैत। सिरहामा महायज्ञका नाममा दलित परिवारको घरभत्काएको घटनामा औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहित दुई जना पक्राउ पक्राउ परेका छन्। औरही गाउँपालिका ५ का पूर्व वडा अध्यक्ष तथा जनमत पार्टीका गाउँ पालिका अध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार बेलुकी नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका दुवैजनालाई अहिले सोधपुछ गर्ने कार्यभईरहेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले जानकारी दिए। उनले भने, ‘नियन्त्रणमा लिएका दुबैजनासँग घटनाबारे सोधपुछ गर्ने काम भइरहेको छ। शनिबार पीडित परिवारसँग जाहेरी लिएपछि थप प्रकृया अगाडी बढ्छ।’
महायज्ञ लगाउनका लागि सिरहाको औरही ५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो। आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप नजिकै रहेको मलिक परीवारको घर नहटाए यज्ञ नलाग्ने जिकिर गरेपछि दिपकको घर गाउँपालिका अध्यक्ष शिवजी यादवले डोजर भिडाएर गत फागनु १० गते भत्काएका थिए।
दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर फालिएको थियो।
आयोजक बजरंगी बाबा, गाउँपालिका अध्यक्ष यादव र पूर्ववडाध्यक्ष दिलीप यादव नेतृत्वको समूहले दिपकका परीवारलाई विद्यालयको जग्गामा टहरो बनाइदिएको छ। ३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्ष अघि घर बनाइदिएको थियो।
घर भत्काएको समाचार विभिन्न सञ्चारमाध्यममा छाएपछि अध्यक्ष यादवले घटना ढकमछोप गर्न विभिन्न हतकड्डा अपनाउँदै आँएका थिए।
छानवित गर्न घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितको टोलि वडा कार्यालयमा बसेर पीडितसँग सोधपुछ गरेर फर्केका थिए। जिल्ला प्रहरीले उजुरी नपरेकाले केहीगर्न नसकिने भन्दै आएका थिए।