धनगढीमाई नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखामा कार्यालय सहयोगीको रुपमा कार्यरत दिनेश यादव नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालका जिल्ला अध्यक्ष भएपछि फूलमालाले स्वागत गदै मेयर शिवशंकर महतो।

सिरहा, ४ चैत। धनगढीमाई नगरपालिकाका एक कर्मचारी राजनीतिक संरक्षणमा गैरकानुनी रुपमा दलको राजनीतिमा सक्रिय रहँदै आएका छन्। कानुनको धज्जी उडाउँदै पालिका प्रमुख शिव शंकर महतो आफैले महिला बालबालिका तथा समाज कल्याण शाखामा कार्यालय सहयोगीको रुपमा कार्यरत दिनेश यादवलाई फूलमालाले स्वागत गरेका हुन्। 

a7836daa-2e06-458d-8402-93fe5d4d2eb4

यादव नेकपा (एमाले)का भात्री संगठन राष्ट्रिय युवा संघ, नेपालको आईतबार सिरहाको सुखिपुरमा सम्पन्न १० औं जिल्ला सम्मेलनबाट दोस्रो कार्यकालको लागि जिल्ला अध्यक्ष निर्वाचित भएका छन्। यस अघिपनि उनी २०७९ चैतमा सम्पन्न ९ औं अधिवेशनमा अध्यक्ष भएका थिए।  

कुनै पनि व्यक्तिको राजनीतिक गर्ने आफ्नो स्वतन्त्रता हुन मेयर महतोले बताए। उनले भने, ‘सवैको राजनीतिक गर्ने स्वतन्त्रता हुन्छ। उनले पनि राजनीतिमा आउने आँट गर्यो। कानुनले दिंदैन भने  भोली उनले राजिनामा दिन्छा’

lalbandi mahotsab

आफ्नै कर्मचारीलाई त्यसरी स्वागत गर्न कतिको उचित हो? भन्ने प्रश्नमा मेयर महतोले यहाँ धेरै कर्मचारीले सक्रिय राजनीति गरिरहेको छ। यो नौलो विषय नभएको बताए।

कुनै पनि कर्मचारीले दलको राजनीतिमा सक्रिय हुन नपाउने भनेपनि कानुन बनाउने तहमै रहेका व्यक्तिहरुबाट यसको उलङ्घन भएको छ। स्थानीय सरकार प्रमुख आफैले आफ्नै कर्मचारीलाई दलको नेताबनाएर स्वागत गरेको प्रति जनप्रतिनिधीहरुले नै टिक्का टिप्पनी हुन थालेका छन्।

पालिकाको वडा नम्वर १ का वडाअध्यक्ष सूर्यनारायण यादवले कुनैपनि कर्मचारीलाई राजनीतिक गर्ने रहरभए राजीनामा दिएर लागेहुने बताए। उनले भने, ‘मैले पनि हाम्रो कर्मचारी दिनेश यादव नेकपा एमाले निकट युवा संगठनको अध्यक्ष हुनुभएको सामाजिक सञ्जालबाट जानकारी पाएँ। उहाँलाई राजनीतिक गर्ने रहरभए जागिर छोडे हुन्छ। म भोली नै मेयरसावसँग कुरा गर्छु। यसविषयलाई तत्काल टुङ्गो लगाउनु पर्छ।’ 

त्यसैगरी वडा नम्वर ७ का अध्यक्ष विजय कुमार महतोले कुनै पनि कर्मचारीलाई राजनीतिक दलको कार्यकारी पदमा वस्ने अधिकार नभएको भन्दै कुनै कर्मचारीलाई राजनीति गर्ने इच्छा भए राजीनामा दिएर गए राम्रो हुने सुझाव दिए। 

यस सम्वन्धमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्गले यादवको विषयमा आफूले केही भन्न नसक्ने भन्दै निरिहता प्रकट गरे। उनले भने, ‘यहाँ को कर्मचारी हो? को नेता हो? को पत्रकार हो? छुट्याउनै समस्या भईसकेको छ। यादवजीको विषयमा मैले नोटीस गरेको छु। म मेयरसँग सल्लाह गर्छु।’

स्थानीय सरकार समेत आफ्नै पार्टीको भएपछि उनी राजनीतिक आडमा कामै नगरी गैरकानुनी रुपले निरन्तर तलव भत्ता खाई रहेको पालिकाले जनाएको छ। महिला बाल बालिका तथा समाज कल्याण शाखाकी प्रमुख हिमा कुमारी उप्रेतिले अहिलेसम्म हाम्रै कर्मचारी रहेको बताए। 


शाखा प्रमुख उप्रेतीलाई उहाँ त नेता हुनुहुन्छ कसरी चलिरहेको छ त कार्यालय? भन्ने गमक पोष्टको प्रश्नमा  उनले भने, ‘यस्तैगरी नै चलिरहेको छ। यहाँ कसलाई केही भन्न सकिने अवस्था छ। जसो तसो चलिरहेको छ।’

कार्यालय सहयोगी यादवले राजनीतिक आडमा पालिकाबाट तलवमात्र हैन पार्टी संगठनको काममा हिड्दाको भत्तासमेत कार्यालयबाट लिने गरेको एक कर्मचारीले बताए। उनले भने, ‘उनी कार्यालय सहयोगी हो की हाकीम, हामी नै अन्यौलमा छौं। उनी संगठनको कामका हिडेको पनि कार्यालयबाट भत्ता बुझ्ने गर्दछ।’ 

यस सम्वन्धमा प्रतिकृया लिन दिनेश यादवलाई फोन गरेपनि उनको फोन उठेन।