सिरहा, ३ चैत। प्रदेश सरकारले गोलाप्रथाका आधारमा एसईई परीक्षको केन्द्राध्यक्ष चयन नगरे परीक्षा प्रक्रियामा सहभागी नहुने चेतावनी दिएका छन्। प्रदेश सरकारको निर्देशन बमोजीक केन्द्राध्यक्ष चयन नगरी शक्ति र प्रभावका आधारमा केन्द्राध्यक्ष तोकीय प्रदेश सरकार परीक्षा प्रक्रियामा सहभागी हुन नसक्ने स्थिति समेत आउन सक्ने बताएको हो।
परीक्षा केन्द्र रहेका विद्यालयकै प्रधानाध्यापक केन्द्राध्यक्ष हुने व्यवस्था पछिल्ला दिनमा अत्यन्त अव्यवहारिक, अवैज्ञानिक र अनुपयुक्त देखिँदै आएकाले मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट एसइइ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष चयन गर्न निर्देशन दिएका छन्।
प्रदेश सरकारले यस विषयमा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी, सदस्य प्रहरी उपरीक्षक र सदस्यसचिव शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख र प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति पदाधिकारीहरूबीच सहमति भइसकेको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए।
‘सोही आधारमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गोलाप्रथाका आधारमा केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरी आठवटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा पठाइसकेको छ। तर, त्यस निर्णयविपरीत विभिन्न जिल्लामा साबिकको व्यवस्था बमोजिम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ। यसबाट एसइइ परीक्षा स्वच्छ तथा मर्यादित हुन सक्ने स्थिति सङ्कटमा पर्न सक्छ;’ प्रेश सल्लाकार कर्णले भने।
कर्णका अनुसार प्रदेश सरकार परीक्षा प्रणालीमा शक्ति र प्रभावको दुरुपयोग रोक्न गोलाप्रथाबाटै केन्द्राध्यक्ष चयन गर्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकृष्ट गराएको छ।