जनकपुरधाम, २२ फागुन। प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको गरुडा नगरपालिकामा अनाधिकृत तवरले सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। बुधबार मुख्यमन्त्री सिंहले निजी अस्पताल अनुगमनक्रममा सबै १० वटा अस्पताल वैध ढङ्गले सञ्चालन नभएका पाएपछि बन्द गर्ने निर्देशन सञ्चालकहरूलाई दिएका हुन्।
मुख्यमन्त्री सिंहले बन्द गर्न निनर्देशन दिएका नौवटा अस्पताल गरुडा नगरपालिका ४ मा र एक अस्पताल वडा नम्बर ५ का छन्। प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरका अनुसार गरुडा नगरपालिका ४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, श्री नेत्रज्योति आँखा हस्पिटल प्रालि, श्री गौर आँखा अस्पताल, श्री गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि र श्री सरस्वती हस्पिटल प्रालि तथा गरुडा नगरपालिका वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालिलाई मुख्यमन्त्री सिँहले बन्द गर्न निर्देशन दिएका हुन्।
मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले सेवा सञ्चालन अनुमति नलिएका, त्यस्तो अनुमति लिए पनि चार–पाँच वर्षयता नवीकरण नगराएका र कानुनी प्रावधानविपरीत निर्धारित सँख्याभन्दा बढी शय्याको अस्पताल सेवा सञ्चालन अनुमति स्थानीय तहबाट प्राप्त गरेका प्रकृतिका ती अस्पताललाई प्रदेश सरकार प्रमुख सिँहले बन्द गर्न निर्देशन दिएको जानकारी दिए। जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा आएका ती अस्पताललाई बन्द गर्न अनुगमन टोलीले अनुगमनक्रममै पत्र दिएको छ।
अनुगमनक्रममा बन्द गर्न निर्देशन दिइएको आनन्द हस्पिटल प्रालिले स्थानीय तहबाट चालू आर्थिक वर्षमै २५ शय्याको अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको छ। कानुनअनुसार स्थानीय तहले १५ शय्यासम्मको अस्पताल सेवा सञ्चालन स्वीकृति दिन सक्छ। २५ शय्यादेखि दुई सयसम्म प्रदेश सरकारले र दुई सय शय्याभन्दा माथि सङ्घ सरकारले अस्पताल सेवा सञ्चालन स्वीकृति दिने व्यवस्था छ। स्थानीय तहलाई विशिष्टीकृत अस्पतालको सेवा सञ्चालन अनुमति दिने अधिकार छैन। “तर, कानुनविपरीत कतिपय स्थानीय तहले अधिकार क्षेत्रभन्दा बाहिर गएर तोकिएको १५ शय्याभन्दा बढी क्षमता र विषयगत अस्पताल सञ्चालन अनुमति दिएको अनुगमनक्रममा मुख्यमन्त्रीज्यूले पाउनुभएको छ । यस्तो अनुमति अवैध हो । त्यसैले मुख्यमन्त्रीज्यूले त्यस्ता अस्पताललाई बन्द गरी कानुनअनुसार विधिसम्मत ढङ्गले अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्न निर्देशन दिनुभएको हो,” मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार कर्णले भने ।