वीरगञ्ज, १९ फागुन। बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले सोमबार दिउँसो सिमराको एक होटलबाट १ सय ७० ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार सिवाना जिल्ला, थाना सिवान चनौर ग्राम पञ्चायत १४ का ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला, रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत ७ का ३० वर्षीय रन्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सन्जीवकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी विजयराज पण्डितले जानकारी दिए।

सोमबार अपरान्ह इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट गएको संयुक्त टोलीले सिमरास्थित राज होटलको कोठा नम्बर १०६ मा छापा मारेर उनीहरु पक्राउ गरेको सूचना अधिकारी पण्डितले बताए। 

नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

lalbandi mahotsab