सिरहा, ११ फागुन। सिरहाको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आईतवार विहान दुई जनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका १० मा पूर्वतर्फ गईरहेको प्रदेश २–०३–०१६ प ०८३४ नम्बरको मोटर साइकललाई सोहि दिशातर्फ गईरहेको प्र २–०१–००१ ख ०१२१ नम्वरको टिपरले ठक्कर दिंदा ५७ वर्षिय अजबलाल साहको मृत्यु भएको हो।
टिपरको ठक्करबाट गम्भिर चोट लागेका साहलाई उपचारको लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ।
त्यसैगरी, आज विहान मिर्चैया कटारी सडक अन्तर्गत मिर्चैया नगरपालिका ७ मा विग्रिएर सडकमै रोकी राखेको प्र. २–०१–००१ ख. ००३६ नम्वरकोे ट्रकमा कटारीबाट मिर्चैया तर्फ आईरहेको प्र. ३–०१–०२२ च. ८७६४ नम्वरको पिकप भ्यान ठोकिँदा भ्यानका सह–चालक सिन्धुलीको दुधौली नगरपालिका १४ का २७ वर्षिय मिलन सुनारको ज्यान गएको हो।
दुर्घटनामा परी गम्भिर घाईते भएको उनको स्थानीइ स्वास्थ्यसंस्थामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख पञ्चकुमार बाखुले जानकारी दिए।
दुर्घटनाका घाइते पिकप चालक दुधौली नगरपालिका १४ कै सागर सुनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। स्थानीइ स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगर लगिएको छ।