आशिष विश्वकर्मा
सिरहा, २२ माघ। सिरहाको धनगढीमाई नगरपालिकाले कृषि विद्युतको महशुल समयमा नबुझाउँदा प्राधिकरणले लाईन काटेपछि किसान मर्कामा परेका छन्। गहुँ सिंचाई गर्ने मुख्य समयमा कृषि मिटरको लाईन विद्युत प्राधिकरणले काटेपछि किसान मर्कामा परेका छन्।
पालिकाले ‘कृषि मिटरको विद्युत महशुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत यहाँका किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएको छ। सोही अनुसार असारबाट महशुल भुक्तानी नहुँदा विद्युत प्राधिकरणले किसानको मिटरको लाइन काट्न थालेको छ।
समयमा विद्युतको महशुल नबुझाउँझा किसानमात्र हैन पालिका पनि आर्थिक मारमा परेको वडाअध्यक्षहरु बताउँछन्। ‘पालिकाले किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएपछि समयमा तिर्नु पर्ने हो। समयमा महशुल नतिर्दा जरिवाना बेहोर्नु पर्ने अवस्था भएको छ।’ वडा अध्यक्षहरुको कथन रहेको छ।
सिंचाई मिटरको लाईन काटीदा धनगढीमाई नगरपालिका ८ का सयौं किसान मर्कामा परेका छन्। ‘किसानले लगाएको गहुँमा सिंचाई गर्नु पर्ने समयमा विद्युतको लाईन काटीयो अहिले सिंचाई गर्न समस्या भईरहेको छ; स्थानीय युवा किसान योगेश सिंहले भने, ‘नगरपालिकाले विद्युतको महशुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो। विनाकारण किसानले दुःख पाईरहेको छ।’
उनले यहाँ रहेको सामुहिक सिंचाई मिटरको २२ हजार महशुल पुगेपछि प्राधिकरणले लाईन काटेको बताए। उनले भने, ‘पालिकाले जिम्मा नलिएको भए हामी नियमित रुपमा महशुल बुझाउँथ्यौं, अहिले २२ हजार महशुलमात्र हैन त्यसमा लाग्ने जरीवाना र पुनः जडान खर्च समेत किसानले वेहोर्नु पर्ने अवस्था आयो।’ एउटै मोटरले यस क्षेत्रका ५० विगहाभन्दा धेरै जमिन सिंचाई गर्दै आएको किसानहरुको भनाई छ।
धनगढीमाई ९ का किसान शिवजी ठाकुर र बागवीर लामाको सिंचाई मिटरको लाईन काटीएको छ। गहुँ सिंचाईको समयमा लाईन काटीएपछि उनीहरु विलखबन्धमा परेका छन्।
नगर कृषि संयोजन समितिका संयोजक समेत रहेका वडा नम्वर १ का अध्यक्ष सूर्यनारायण यादवले नगरले विनियोजन गरेको बजेटभन्दा महशुल रकम धेरै उठेकोले शुल्क बुझाउन समस्या भउको बताए।
अध्यक्ष यादवले पालिकाले चालु आर्थिक वर्षमा कृषि विद्युत महशुल बुझाउन ४५ लाख विनियोजन गरेको जानकारी दिए। उनले भने, ‘पालिकाले पहिलो वर्ष २० लाख रुपैयाँ विद्युत प्राधिकरणमा बुझाएको थियो, यो पटक ४५ लाख विनियोजन गरेपनि महशुल एक करोडभन्दा धेरै देखाएकाले समस्या भएको हो।’
यस समस्याको विषयमा छलफल गर्न भोली बुधबार सवै वडा अध्यक्षहरुलाई बोलाएको भन्दै अध्यक्ष यादवले त्यहि बैठकले निर्णय लिने बताए।
रकम भुक्तानी नहुनुको कारणबारे प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्गसँग जिज्ञासा राख्दा उनले विनियोजन बजेट र उठेको महशुल रकमको तालमेल नमिल्दा समस्या भएको बताए। उनले भने, ‘नगरसभाले योजना बनाएरमात्र भएन, त्यसमा कति बजेट विनियोजन भएको छ भन्ने मुख्य कुरा हुन्छ। बजेट र भुक्तानी गर्नुपर्ने महशुलको तालमेल मिलिरहेको छैन। भोली बुधबार कार्यपालिका बैठक बस्दैछ। त्यहि यस विषयमा छलफल हुन्छ होला।’