बिशाल बस्नेत

महोत्तरी, २२ माघ। अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेपछि किसान चिन्तित भएका छन्।

बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेपछि किसानका चिन्ता बढेका हुन्।

स्थानिय गोपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैसी मरिसकेको छ भने  अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वति कार्कीको दुहुनो भैसी एक्कासी मरेको जनाइएको छ। 

यसअघि हनुमान चोकमा अर्को किसानको भैसी समेत मृत अवस्थामा भेटिएको थियो । भैसीहरुमा कुनैपनि रोगको लक्षण नै नदेखी धमाधम मर्न थालेपछी किसानहरुको चिन्तित बनेका छन्। ‘बेलुका दुध दोहोएर गोठमा सारेको भैसी बिहान मरिराखेको रहेछ,’ सरस्वति कार्कीले भनिन,  ‘एकै त लाख १५ हजार भन्दा बढी पर्ने भैसी गुमाउनु पर्र्यो।’

भैसीहरु किन मरे भन्ने बिषयमा नगरले अनुसन्धान अगाडी बढाउन सकिएको छैन। यदपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराईसकेको किसानहरुले बताएका छन्। तर नगर पशु स्वास्थ्य शाखाले भैसीहरु महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुन् सक्ने अनुमान गरेको छ।

‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन्,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खडकाले भने, ‘हामीलाई यो विषयमा किसानहरुले जानकारी गराएका थिए तर त्यस्तो माहामारी नै हो भन्ने हैन की खानामा विषादी अर्थात फुड पोइजन भएको हुन् सक्छ।’ यद्दपी, थप अनुसन्धान भइरहेको उनले जनाए।

वडा अध्यक्ष पदम आलेमगरले पनि अहिले मरेका भैसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुन् सक्ने बताएका छन्। अहिले बर्दिवासको यो वडा नं. ६ मात्र १५ सय भन्दा बढी भैसी किसानहरुको गोठमा रहेको अनुमान गरिएको छ।

न्युज कारखाना