संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित विमानस्थलमा अवतरण गर्न लागेको एउटा यात्रुवाहक विमान हावामा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको छ।
दुर्घटनाबारे जारी अनुसन्धानबारे जानकारी राख्ने एक अधिकारीले विमान खसेको स्थानबाट कम्तीमा १९ वटा शव निकालिएको जानकारी बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई दिएका छन्। यद्यपि सरकारी निकायले हताहत भएका व्यक्तिहरूको सङ्ख्याबारे आधिकारिक जानकारी दिन बाँकी नै छ।
गोताखोर र उद्धारकर्मीहरू सवार डुङ्गाहरूले न्यूनतम बिन्दुमा पुगेको तापक्रमका माझ नदीमा खोजी तथा उद्धारकार्य गरिरहेका छन्। अधिकारीहरूले अँध्यारो र चिसोका कारण उद्धारकार्य प्रभावित भएको बताएका छन्।
क्यान्सस राज्यबाट उडेको उक्त जेट विमान अमेरिको राजधानीको मध्यभागमा अवस्थित रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो।
विमानमा चालकदलका सदस्यसहित ६४ जना सवार थिए भने हेलिकप्टरमा तीनजना सैनिक रहेको बताइएको छ। सेनाको हेलिकप्टर प्रशिक्षण उडानमा रहेको बताइएको छ।
'दुर्घटना टार्न सकिन्थ्यो'
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले परिस्थितिको निगरानी गरिरहेको बताउँदै आपत्कालीन उद्धारकर्मीहरूलाई उनीहरूको कामका लागि धन्यवाद दिएका छन्। तर उनले दुर्घटना टार्न सकिने खालको थियो भन्दै कसरी त्यसो हुन गयो भनेर प्रश्न गरेका छन्।
उड्डयनविज्ञहरूले रेगन विमानस्थल देशको सबैभन्दा व्यस्तमध्येमा पर्ने र त्यहाँ राजधानीमाथिको हवाईमार्गमा प्रायः विमानहरूको चाप रहने गरेको बताएका छन्।
अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।
एफएएले उक्त विमान रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको जानकारी सीबीएस न्यूजलाई दिएको छ।
विमान दुई टुक्रा, हेलिकप्टर उत्तानो
अमेरिकी सञ्चारमाध्यमका अनुसार दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ भने डुङ्गा र गोताखोरहरूले विमान र हेलिकप्टरमा सवार मानिसहरूको खोजी गरिरहेका छन्।
दुर्घटनाग्रस्त हेलिकप्टर पानीमा उत्तानो परेर खसेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
डीसीस्थित आप्तकालीन उद्धारकार्य गर्ने निकायका प्रमुखले अहिलेसम्म कोही व्यक्ति जीवित भए नभएको थाहा नभएको बताएका छन्।
जोन डनेलीका अनुसार उद्धारकर्ताहरूको प्राथमिकता जीवित व्यक्ति खोज्नु हो।
विमानस्थल बन्द
बीबीसी संवाददाताहरूका अनुसार रेगन विमानस्थलभन्दा पछाडिपट्टि रहेको भागमा खोजी तथा उद्धारकार्य भइरहेको छ। उक्त अभियानमा स्थानीय प्रहरी, सङ्घीय अधिकारीहरू र अन्य विभिन्न निकाय संलग्न छन्।
पोटोम्याक नदीमा खोजी तथा उद्धारकार्यका क्रममा बत्ती बलेको देखिन्छ तर विमानस्थल चाहिँ चकमन्न छ। दुर्घटनास्थलको हवाईगस्ती गर्दै गरेको एउटा हेलिकप्टरबाहेक आकाशमा अरू कुनै विमान छैन।
उक्त विमानस्थलतिर आउन लागेका विमानहरूलाई डलस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ। हवाईयात्रुलाई सुविधा प्रदान गर्न डीसीको मेट्रो रेल राति अवेरसम्म चल्ने भएको छ।
दुर्घटनास्थलमा खोजी तथा उद्धारकार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाउने भएको छ। सङ्घीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाएको छ।
बीबीसी नेपाली ।