राजविराज, ८ माघ। सप्तरीको सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरमा नेपाल विद्युत प्राधिकरणको फ्युज सेवा तथा महसुल काउण्टर स्थापना गरिएको छ।
सुरुङ्गा नगरपालिकाले ३ स्थित वडा कार्यालय परिसरमै उपलब्ध गराएको भवनमा स्थापना गरिएको सो फ्युज सेवा तथा महसुल काउण्टरको आज मंगलवार एक कार्यक्रमका बीच नेपाल विद्यत प्राधिकरण मधेश प्रादेशिक कार्यालयका प्रमुख ईञ्जिनियर शम्भु कुसियैतले उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख कुसियैतले ग्राहकहरुलाई सहज सुल्भ ढंगबाट सेवा प्रवाह गर्न फ्युज सेवा र महसुल काउण्टर स्थापना गरिएको बताए। उनले यसबाट सेवाग्राहीहरुको समयसँगै पैसाको समेत बचत हुने बताउदै सिंचाई विद्युतीकरणका लागि स्थानीय सरकारसँग समन्वय भईरहेको जानकारी दिए।
नेपाल विद्युत प्राधिकरण बोदे बसाईन वितरण केन्द्रद्वारा स्थापना गरिएको सो फ्युज सेवा तथा महसुल काउण्टरबाट सुरुङ्गा नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्मका करिब १० हजार ग्राहक लाभाम्बित हुने जनाएको छ।
सो क्षेत्रमा महसुल काउण्टर नहुदाँ स्थानीय ग्राहकहरु महसुल बु्झाउन बोदे बसाईनस्थित वितरण केन्द्रमै पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गरी लक्ष्मीपुरमा फ्युज सेवा तथा महसुल काउण्टर स्थापना गरिएको नेपाल विद्युत प्राधिकरण बोदे बसाईन वितरण केन्दका प्रमुख ईञ्जिनियर संयोग विश्वकर्माले बताए।
उक्त क्षेत्रमा फ्युज सेवा मर्मत सम्भारका साथै ग्राहकबाट महसुल बुझ्ने उद्श्यले स्थापना गरिएको सो काउण्टरमा हालका लागि तीन जना कर्मचारी परिचालन गरिएको र आवश्यकता अनुसार अन्य कर्मचारी समेत व्यवस्थापन गरिने प्रमुख विश्वकर्माले जनाए।
कार्यक्रममा सुरुङ्गा नगरपालिकाका नगरप्रमुख गिता चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष किरण पोखरेल, नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रका प्रमुख लखनलला मल्लिक लगायतले आ–आफ्ना धारणा राखे।