• जगत नेपाल 

आजभन्दा ठिक ७३ वर्षअघिको कुरा हो । रोलक्रमका आधारमा राणाहरू मात्र प्रधानमन्त्री हुन पाउने निरंकुश शासन व्यवस्थालाई २००७ सालको क्रान्तिले समाप्त पारेपछि पहिलो पटक नेपाली जनताका सन्तानबाट मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेको दुई महिना एक साता मात्र भएको थियो ।

ती दिनहरूमा प्रधानमन्त्रीका लागि छुट्टै सरकारी निवास थिएन । प्रधानमन्त्री उनको लाजिम्पाटमा काठैकाठले बनेको एउटा सानो दुईतले बंगलोमा बस्थे ।

२००८ साल माघ पहिलो साताको कुरा हो । रक्षा दलमा विद्रोह हुन लागेको सूचना प्रधानमन्त्रीसम्म आउन थाल्यो । २००७ सालको क्रान्तिमा राणाविरुद्ध लडेको नेपाली कांग्रेसको मुक्ति सेनालाई क्रान्तिपछि रक्षा दलमा परिणत गरिएको थियो । क्रान्तिकालमा त्यही फौजको उनी अधिनायक कमान्डर थिए । त्यही फौजको बलमा भएको क्रान्तिले उनलाई प्रधानमन्त्री बनाएको थियो । रक्षा दलको विद्रोहको खबर आएदेखि प्रधानमन्त्री बेचैन थिए ।

ती दिनमा प्रधानमन्त्रीका बडिगार्ड राष्ट्र्रिय सेनाका नभई रक्षा दलकै अफिसरहरू थिए । राष्ट्र्रिय सेना (आर्मी) लाई सेन्ट्रीको जिम्मेवारीमा सीमित गरिएको थियो । २००८ साल माघ ८ गते रातिको कुरा हो, प्रधानमन्त्रीका सुरक्षा अधिकारी क्याप्टेन पराजुलीले भने– ‘प्रधानमन्त्रीज्यू, रक्षा दलका मानिसहरू अब यहीँ आउन सक्छन् । उनीहरू आइपुग्नुअघि नै प्रधानमन्त्रीज्यूले सपरिवार यो ठाउँ छोड्नु उपयुक्त हुन्छ ।’

विद्रोही फौज प्रधानमन्त्रीलाई कब्जा गर्न भनेर निवाससम्मै आइपुग्यो भने जोगाउन सकिन्छ भन्ने विश्वास गुमाएपछि उनले त्यस्तो सुझाव दिएका थिए । त्यस दिन निवासमै रहेका प्रधानमन्त्री पुत्र कमल कोइरालाले २०७६ सालमा लेखकलाई त्यस दिनको घटना विवरण यसरी सुनाएका थिए– ‘त्यतिबेला गुभाजु थरका एक गैरसैनिक प्रधानमन्त्रीका चालक थिए । प्रधानमन्त्रीको कार्यक्रम सकेर हरेक दिन साँझ निवासमा मोटर थन्क्याई उज्यालैमा साँचो बोकेर उनी आफ्नो घरतिर लाग्थे । प्रधानमन्त्रीका बडिगार्डहरू चढ्ने जिपका ड्राइभर पनि साँझ मोटर थन्क्याएर आफ्नो घरतिर जान्थे ।’

ती दिन २००७ सालको क्रान्तिमा भैरहवा मोर्चाबाट लडेका डा. के.आई सिंह सिंहदरबारमा बन्दी थिए । राणा सरकार र कांग्रेस दुवैले युद्धविराम घोषणा गरे पनि दिल्ली सम्झौता नमान्ने भन्दै विद्रोहलाई निरन्तरता दिएकाले सिंहलाई पक्राउ गरी सिंहदरबारभित्र थुनामा राखिएको थियो । रक्षा दलका विद्रोहीहरूले उनै डा.के.आई सिंहलाई आफ्नो नेता मानेर थुनामुक्त गर्दै आफू नेतृत्वको सरकारलाई बर्खास्त गरी नयाँ सर्वदलीय सरकार बनाउनुपर्ने माग अघि सारे भन्ने अपुष्ट सूचना प्रधानमन्त्री कोइरालाले पाइरहेका थिए ।

के.आई सिंहसहित रामप्रसाद राई, अग्निप्रसाद खरेल आदिको नेतृत्वमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कब्जामा लिइसके । सबै कैदी छुटाए । नारायणहिटी राजदरबार र सैनिक हेडक्वार्टरबाहेकका मुख्य कार्यालय विद्रोहीको कब्जामा छन् । कति मन्त्री भागेर राजदरबार पुगिसके भन्ने खबर आउन थाल्यो । भयानक दुर्घटना र रक्तपात हुन सक्ने त्रासले प्रधानमन्त्री छटपटाइरहेका थिए ।

सुरक्षा अधिकारीको सुझावअनुसार निवास छोड्नुबाहेक अर्को विकल्प नभएपछि प्रधानमन्त्रीले दरबारमा फोन गरी एउटा ठूलो गाडी पठाइदिन आग्रह गरे । राजासामु राष्ट्र्रिय पोसाकबिनै जानु त भएन भनेर उनी आफूचाहिँ दौरा, सुरुवाल र टोपी लगाउन थाले । माघको चिसो रात ढल्कँदै गर्दा दरबारबाट मोटर आइपुग्यो । प्रधानमन्त्री अगाडिको सिटमा बसे । परिवारका अरू सदस्य पछाडि खचाखच गरे अटाए । बंगलोमा मोटरभित्र र बाहिर जाने छुट्टाछुट्टै गेट थिए । प्रधानमन्त्री सवार मोटर बाहिरिएलगत्तै एउटा लरी निवासभित्र छिर्‍यो । मधुरो प्रकाशमा लरीभित्र को थिए पहिचान गर्न सक्ने अवस्था थिएन । प्रधानमन्त्रीले भने ‘ए ! एक पटक रोकौं कि । कहीं हाम्रो मद्दतका लागि आएका त होइनन् । दरबारबाट खटिएको सेनाले भन्यो– ‘हैन प्रधानमन्त्रीज्यू हिँडिसकेपछि रोकिनुहुन्न ।’ त्यसपछि मोटर सिधै दरबारको उत्तरपट्टिको सानो गेटमा गएर टक्क रोकियो । सेनाले ढोका ढ्याकढ्याक गर्‍यो । भित्रबाट आवाज आयो ‘हु कम्स देयर ।’ सैनिक अधिकारीले भने ‘प्यारोल’ । सही कोड मिलेकाले ढोका खुल्यो ।

सैनिक अधिकृतले भने– ‘प्रधानमन्त्रीज्यू सवारी होस् । सानो ढोकाबाट पहिला प्रधानमन्त्री कोइराला भित्र छिरे, अनि क्रमशः परिवारका सबै सदस्य । दरबारको गेट बन्द भएपछि मात्र सैनिक अधिकारीले भने, ‘रौं–रौंले बालबाल बचियो प्रधानमन्त्रीज्यू । हामी निस्कने बेला प्रधानमन्त्री निवासमा विद्रोही फौज पुगिसकेको थियो । त्यसैकारण प्रधानमन्त्रीज्यूले भन्दा पनि मैले मोटर रोक्न दिइनँ । अनि लामो सास तानेर प्रधानमन्त्रीले भने– ‘ए बाबा । बालबाल, जोगिइएछ त । प्रधानमन्त्रीलाई नै कब्जा परेको भए त, सिध्याउने रहेछन् नि ।’

त्यतिञ्जेल तीनवटा बटालियनमा करिब २ हजार ७ सयको संख्यामा रहेको सशस्त्र रक्षा दलले सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित बारुदखाना, तोपखाना, बन्दुकखाना, मुलुकीखाना, हवाई अड्डा, रेडियो स्टेसन नियन्त्रणमा लिइसकेको खबर आउन थाल्यो । उनीहरूले बिजुली अड्डा कब्जामा लिई विद्युत् वितरण बन्द गरिदिए ।

आकाशवाणी र टेलिफोन सेवा अवरुद्ध गरियो । काठमाडौं उपत्यकाभित्रका सवारी र यातायातका साधन कब्जामा लिए । कर्मचारीले अति गोप्य रूपमा राजदरबारको विद्युत् र टेलिफोन लाइन भने यथावत् राखिदिएकाले त्यहाँ मात्र सेवा अवरुद्ध हुन पाएन ।

प्रधानमन्त्रीसँगै नारायणहिटी दरबार पुगेका उनका छोरा कमललाई दरबारभित्र प्रवेश गरेपछिको वृत्तान्त कोइरालाले यसरी सुनाए–

हामी पुग्दा राजा त्रिभुवन सुतिसकेका रहेछन् । राजालाई उठाउने कि नउठाउने भन्ने कुरा चल्यो । त्यत्रो घटना हुँदासमेत दरबारियाहरू राजालाई उठाउने कि नउठाउने भन्ने बहस गर्दै थिए । निदाएको राजालाई उठाउनु हुँदैन भन्ने परम्परा रहेकाले राजालाई उठाउने कसको आँट । उठाउनुपर्छ भन्नुभयो बाबाले । अब बडिगार्डले उठाउन नहुने । दुवै बडामहारानीलाई उठाइयो । राजाका एडीसी योगविक्रम राणाले भने– ‘प्रधानमन्त्रीज्यू भन्दै हुनुहुन्छ, सहरमा विद्रोह भयो महाराजाधिराज सरकारलाई उठाउनुपर्‍यो । ठूली महारानीले ‘उठाउनैपर्छ र प्रधानमन्त्रीज्यू’ भनेर सोधिन् । बाबाले भन्नुभयो– ‘सहरमा यत्रो विद्रोह भएको छ । सिंहदरबार उनीहरूकै कब्जामा छ । उठाउनुपर्छ । अनि बल्ल रानी राजालाई उठाउन गइन् ।’

सुतेका राजा त्रिभुवन तयार भएर बैठक कक्षमा आउन करिब आधा घण्टा लाग्यो होला । त्यतिञ्जेल प्रायः मन्त्रीहरू भागेर राजदरबारको शरण परिसकेका थिए । त्यही बेला भारतीय राजदूत सीपीएन सिन्हाले खबर पठाए– ‘अब त आपत् पर्‍यो, भारतीय एयर फोर्स बोलाउनुपर्‍यो ।’ राजाको सुरक्षार्थ खटिने नेपाली सेनाको विशेष फोर्स बिजुली गारत नारायणहिटीभित्रै थियो । केही बेर कुरा भएपछि राजाका एडीसी योगविक्रमले भने– ‘तत्काल त्यही फौज परिचालन गरेर विद्रोह निस्तेज बनाउन सकिन्छ ।’

छलफल चलिरहँदा रक्षा दलका प्रमुख जीबी याक्थुम्बासहित वरिष्ठ अधिकारी पनि दरबार आइपुगे । त्यो घटनाबाट अलिकति प्रधानमन्त्रीको मनोबल बढ्यो । उनले भने– ‘ठिक छ ट्रायल गरौं । रातभरिमा नियन्त्रणमा लिन सकिन्छ कि ।’ राजाले पुलुक्क प्रधानमन्त्रीको अनुहारतिर नजर लगाए । उनलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए– ‘सरकार यो विद्रोह मेराविरुद्धमा हो, सरकारका विरुद्धमा होइन ।’

त्यतिञ्जेल भारतीय राजदूत पनि दरबार पुगिसकेका थिए । एक पटक विदेशी सेना आयो भने देशको राष्ट्रियता र स्वतन्त्रता नै गुम्न सक्छ भन्ने संशयमा रहेका प्रधानमन्त्रीले भारतीय राजदूतसँग भने–‘आपको बहुत बहुत धन्यवाद ।’

‘ठिक है हम लोग देखेङ्गे कलतक ।‘ ठिक है आपलोग ऐसा कहते है तो । कुछ हो गया तो, आप लोगो कि जिम्मेदारी होगी । नही तो अभी हमको भारत सरकारको रिपोर्ट करना है । हम चलते है’ यति भनेर उनी बाहिरिए ।

मुलुकमा त्यत्रो संकट आइपर्दा विद्रोहीको अवरोधका कारण प्रधानसेनापति किरणशमशेर जबरा झम्सिखेलमा

अड्किएका थिए । आउने बाटो थिएन । अनि दरबारको फौज र रक्षा दललाई परिचालन गरी विद्रोह नियन्त्रण गर्ने योजना बन्यो । आर्मी ब्याकअप फोर्सका रूपमा रहने, रक्षा दलका कमान्डरहरूले आफ्ना मानिसलाई ‘ए केटा हो के गरेको यो, राख हतियार भन्ने ।’

त्यही रणनीतिले काम गर्‍यो । एक कर्णेलको कमान्डमा पहिलो टोली कौसीतोषाखानामा (ढुकुटी) हनुमानढोका पुग्यो । रक्षा दलका कमान्डरले भने– ‘ए केटा हो, के यस्तो गरेको, राख हतियार । सबैले मानिहाले । केही गर्नुपरेन ।’

लप्टन/मेजरको आदेशमा विद्रोह गरेका रक्षा दलका जवानहरूले त्यसभन्दा माथिका अफिसरको आदेश खुरुखुरु मानिहाले । अनि उनीहरू सबैलाई लरीमा राखेर नारायणहिटी पुर्‍याइयो । गठ्ठाघरमा खरखजाना कब्जा गरेर बसेको टोलीलाई पनि सूत्रले काम गर्‍यो । उनीहरूका हतियार बटुलेर रक्षा दलका जवानहरूलाई पनि नारायणहिटी पुर्‍याइयो । अब खाली सिंहदरबार विद्रोहीको कब्जामा थियो । सिंहदरबार कब्जा भएको रात मन्त्री गणेशमान सिंह र नेता टंकप्रसाद आचार्यलाई विद्रोहको सुइँकोसम्म थिएन । विद्रोही सेनाले दुवैलाई बिहान उज्यालो नहुँदै पक्राउ गरी सिंहदरबारमा पुर्‍याए र आफ्ना मागबारे राजासँग वार्ता गर्न आग्रह गरे । मन्त्रीका बडिगार्ड नै रक्षा दलका अफिसर रहने भएकाले उनीहरू मार्फत नै गणेशमान सिंहलाई सिंहदरबार पुर्‍याइएको थियो ।

माघ ९ गते बिहानसम्म रेडियो नेपालका कार्यकारी निर्देशक तरिणीप्रसाद कोइरालालाई सिंहदरबार विद्रोहीले कब्जा गरेको भेउ थिएन । बिहान जब उनी प्रवेशद्वारमा पुगे । रक्षा दलका जवानहरूले सोधे–तपार्इं किन आएको ? तारिणीले जवाफ दिए –रेडियो कार्यक्रम चलाउन । विद्रोहीले भनेछन्– अब तपाईं रेडियो कार्यक्रम चलाउनुहुन्न, हामी पनि चलाउँदैनौं । यति भनेर उनलार्ई फर्काइदिए । विद्रोहीले रेडियो नेपालबाट सिंहदरबार हामीले कब्जा गर्‍यौं भन्ने सूचना मात्र बजाएको भए त्यसले ठूलो असर पर्न सक्थ्यो ।

रातभरमा सिंहदरबारबाहेक सबै मुख्य–मुख्य अड्डा राष्ट्र्रिय सेनाको कब्जामा आयो । बिहान अचानक तोपहरू पड्किन थाले । नारायणहिटी दरबारमै रहेका प्रधानमन्त्री पुत्र कमल कोइरालाले जिज्ञासा राखे– ‘किन यति विधि तोप पड्किएको ।’ अनि मात्र उनलाई थाहा भयो, त्यो दिन राजा त्रिभुवनकी दिदी शाहज्यादीको जन्मदिन रहेछ । त्यसैको खुसियालीमा तोप

पड्काइएको रहेछ । अनौठो संयोग थियो, त्यो ।

एकातिर सहरमा विद्रोह भएको छ, अर्कोतिर शाहज्यादीको जन्मोत्सव पनि मनाइँदै छ । आकाश फाट्ने गरी तीनै सहरमा तोपको आवाज गुञ्जियो । त्यो गगनभेदी आवाजले सुन्नेहरूमा एकैपटक सन्देश प्रवाह भयो, लौ विद्रोहीलाई सरकारले नियन्त्रणमा लिएछ । त्यसले पनि ठूलो काम गर्‍यो ।

माघ ९ गते बिहान विद्रोहीका मागबारे राजासँग जानकारी गराउन मन्त्री गणेशमान सिंह र टंकप्रसाद आचार्य दरबार पुगे । प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई हटाएर कम्युनिस्टसहितको सर्वदलीय सरकार बनाउनुपर्ने सर्त उनीहरूको थियो । सिंहदरबारबाहेक सबै जसो अड्डा राष्ट्र्रिय फौजको नियन्त्रणमा आइसकेकाले त्यतिञ्जेलसम्म प्रधानमन्त्री र सेनाको मनोबल बढेको थियो । राजा र प्रधानमन्त्रीको उपस्थितिमा विद्रोहीका प्रस्तावमाथि छलफल चल्यो । प्रधानमन्त्रीले आचार्य र सिंहलाई सोधे, ‘सर्वदलीय सरकारको कुरा त आयो । कम्युनिस्टमा पनि दुई पक्ष छन् । रेड कम्युनिस्ट पार्टीलाई लिने कि नलिने । गोरखा दललाई के गर्ने ? विद्रोहीसँग सोध्नुपर्‍यो ।’ त्यही क्रममा राजाले डा. के.आई सिंहलाई वार्ताका लागि दरबारमै आउन आमन्त्रण गरे । सिंह र आचार्यले फेरि सिंहदरबार पुगेर के.आई सिंहसँग कुरा गरे । उनी दरबार जान तयार भएनन् । बरु गोरखा दल र रेड कम्युनिस्टलाई सरकारमा समावेश नगराउने आफ्नो सन्देशसहित राजासँग कुरा गर्न भने ।

विद्रोहीका नेता सिंहको भनाइ उद्धृत गर्दै पुरुषोत्तम बस्नेतले आफ्नो पुस्तक नेपाली कांग्रेसको इतिहासको प्रारूपमा लेखेका छन्– ‘मेरो माग तुरुन्त सर्वदलीय सरकार बन्नुपर्छ भन्ने हो । यसमा कम्युनिस्ट पार्टीलाई पनि समावेश गरिनुपर्छ । तर गोरखा दल जस्तो प्रतिक्रियावादी पार्टीलाई त्यसमा राखिनु हुँदैन । विद्रोहीको सन्देश राजासमक्ष पुगुञ्जेल प्रधानसेनापतिबाहेक सबै जसो मन्त्री, उच्च सैनिक र कर्मचारी नारायणहिटी राजदरबारमा जम्मा भइसकेकाले त्यहाँ हाटबजार जस्तै भीडभाड थियो । सरकारले विद्रोहीलाई अल्मल्याई सिंहदरबारलाई चारैतिरबाट घेरेर नियन्त्रणमा लिने रणनीतिसहित राष्ट्र्रिय सेना परिचालन गरिसकेको थियो । वार्ता त विद्रोहीलाई अल्मल्याएर समय कटाउने उनको नीति मात्र थियो ।’

प्रधानमन्त्री पुत्र कमल कोइरालाले त्यस दिन दरबारमा बस्दाको अनुभव यसरी सुनाए– ‘बिहानको खाना हामीले दरबारमै खायौं । राजाका लागि नाकसम्म पुग्ने भातको कुनिउँ तयार गरिने रहेछ । त्यसैगरी चौरासी व्यञ्जन पुर्‍याउनैपर्ने नियम पनि रहेछ । बरफले चिसो पारी पित्तलको गाग्रीलाई फ्रिजका रूपमा प्रयोग गरिने रहेछ । त्यो भातको कुनिउँ र चौरासी व्यञ्जनबाट सबैभन्दा पहिला राजाले आफूलाई जे जे मन लाग्छ खाए । अनि त्यही कुनिउँबाट बडामहारानीहरूले खाए । हामीहरूलाई पनि त्यही खान बोलाइयो । भातको यत्रो कुनिउँ के हो भनेर मैले सोधें । सबैका लागि यही हो भने । मलाई अचम्म लाग्यो । राजाको जुठो खायो भने पाप कट्छ भनेर त्यसरी खाने चलन दरबारभित्र रहेछ ।’

केही समयपछि सिंहदरबारतिर गोली चलेको आवाज सुनियो । दिउँसो ३ घण्टाजति सिंहदरबारबाट रक्षा दल र टुँडिखेलतिरबाट सेनाका बीच फाटफुट गोली हानाहान भयो । रक्षा दलका एक ड्र्राइभर र एक जना बटुवा मारिए । रक्षा दलको गोलीबाट सेनातर्फ दुई/तीन जना घाइते भए । सहरमा त्रासदीपूर्ण वातावरण थियो, सरकारले कर्फ्यु आदेश जारी गरेकाले सडक, बस्तीमा चहलपहल थिएन । माघ ९ गते अपराह्न के.आई सिंह आफ्ना सहयोगीहरूका साथ सिंहदरबारको पश्चिमतिरबाट भद्रकाली हुँदै निस्किएको सूचना दरबारमा आइपुग्यो । अनि प्रधानमन्त्रीले लामो सास ताने । बाफ रे बाफ ! ठूलो राष्ट्र्रिय संकट टर्‍यो । मुलुक ठूलो दुर्घटनाबाट जोगियो ।

कान्तिपुरबाट।

–रत्नराज्यलक्ष्मी क्याम्पस पत्रकारिता विभागका प्रमुखसमेत रहेका उपप्राध्यापक नेपाल राजनीतिक इतिहासका अध्येता पनि हुन् ।