मुम्बइ, २४ पुस। सुरक्षा चुनौती बढेसँगै सलमान खानको घरको झ्याल रपर्खाल बुलेट प्रुफ बनाइएको छ। गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध बदमाशहरूले गोली चलाए पछि उनको सुरक्षा चिन्ता बढीरहेको बेला यो कार्य गरिएको हो। 

सो घटना पछि सलमानको घरमा सुरक्षा बढाइएको थियो। सोही क्रममा अहिले उनीहरुको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएको हो।

सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि पुनर्निमार्णको काम चलिरहेको थियो। अहिले अपार्टमेन्टको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ गिलास देखिएका छन्।

एनडीटीभीका अनुसार सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको हो। घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ।

सलमान खान ग्यालेक्सी अपार्टमेन्टको भुईं फ्लोरमा १ बीएचकेमा बस्छन् भने उनका आमाबुवा यस अपार्टमेन्टको पहिलो तल्लामा बस्दै आएका छन्।

८ महिनाअघि गत अप्रिल १४ मा बिहान ५ बजे सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ७.६ बोरको बन्दुकबाट ४ राउण्ड फायर भएको थियो। गोली चलाउने घरबाहिर राखिएको सिसिटिभी क्यामेरामा कैदसमेत भएका थिए। गोलीबारी सोही पर्खालमा भएको थियो, जहाँबाट केही टाढा सलमानको बालकनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउने गर्छन्।

न्यूजकारखाना।