रौतहट, ३ पुस। रौतहटको चन्द्रपुर नगर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनका लागि डेढकरोडभन्दा बढी मूल्यको उपकरण हस्तान्तरण गरेको छ। चन्द्रपुर नगरपालिका र लायन्स अन्तर्राष्ट्रिय क्लबको साझेदारीमा अस्पताललाई एक करोड ६० लाख मूल्य बराबरको आवश्यक उपकरण हस्तान्तरण गरेको हो।
चन्द्रनिगाहपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको लागि अतिआवश्यक सामग्री हस्तान्तरण गरिएको थियो। ‘एनेस्थेसिया, भेन्टिलेटर, ओटी टेबल सेट, ओटी लाइट सेट, आइसियु सेटअफ लगायतका आवश्यक दुई सयभन्दा बढी उपकरण अस्पतालमा प्राप्त भएको अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवले जानकारी दिए।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको जिल्लाको चन्द्रनिगाहपुरमा ट्रमा सेन्टर सञ्चालनमा आएपछि प्राकृतिक प्रकोप, दुर्घटनामा परेका बिरामीलाई उपचारमा सहज हुने नगरप्रमुख सञ्जयकुमार काफ्लेले बताए।
सडक दुर्घटना, प्राकृतिक विपद्ले मानवको अकालमा ज्यान नजाओस् भन्ने उद्देश्यले अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउन लागिएको नगरप्रमुख काफ्लेले जनाए।
लायन्स अन्तर्राष्ट्रियका प्रमुख बालकृष्ण बुर्लाकोटीले चन्द्रपुर राजमार्गसँग जोडिएकाले दुर्घटनाको जोखिम उच्च रहने भन्दै यहाँ ट्रमा सेन्टर सञ्चालन भएसँगै घाइतेले तत्काल उपचार पाउने विश्वास व्यक्त गरे।
अस्पतालले आकस्मिक सेवा, प्रसूति सेवा, बहिरङ्ग (ओपिडी), प्रयोगशाला, एक्सरे, खोप, क्षयरोग, निःशुल्क फार्मेसी, बिमा सेवा सञ्चालन गर्दै आएको छ। यसअघि दैनिक तीन सयसम्म बिरामी आउने गरेकामा अस्पतालमा सम्पूर्ण किसिमका उपकरणको व्यवस्था भएपछि अहिले दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी आउने गरेका छन्।
सर्पदंशको उपचार गर्न जिल्लाभरिका बिरामी चन्द्रनिगाहपुर अस्पतालमा आउने गर्दछन्।