सिरहा, २५ मंसिर।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकाको धन्सार–लमाहामा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा बालबालिकासहित ४ जना घाइते छन्। 

बाराको गढीमाई मेला दर्शनगरी फर्किदै गरेको अवस्थामा चन्द्रपुर ४ धन्सारपुल नजिक जंगलमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई रोडबाट तल झरी रुखमा ठोक्किएर दुर्घटना हुँदा चालक सहित ८ जनाको मृत्यु भएको हो।

दुर्घटनामा सिरहाको अर्जनमा गाउँ पालिका ३ की ६० को लरुवती देबि महरा, ३० वर्षिया उर्मिला महरा, ५० वर्षिया रामकुमारी महरा, ५५ वर्षिया महगीं देवि महरा, ६२ वर्षिया फुलमन्ति देवि चमार, ६० वर्षिया रामकुमारि देवि महरा, ३० वर्षिया सकुन्तला देवि महरा, र अर्नमा कै ५ नम्वर वडा बलुवाटोलका ४० वर्षिय स्कोरपिओ चालक श्रीकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी राजकुमार राईले जानकारी दिए। 

गढीमाई दर्शन गरेर घर फर्कँदै गर्दा स्कर्पियो सडकबाट तल खसेर रुखमा ठोक्किए पछि पल्टिएको डीएसपी राईले बताए। उनले भने, ‘घटना लगत्तै पुगेर घाइतेहरूको उद्धार गरी अस्पताल ल्याएका छौं। घाइते मध्ये ८ जनालाई अस्पतालले तत्काल मृत घोषणा गरेको छ।’

दुर्घटनामा दुई बालबालिकासहित घाइतेको चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। एक जनालाई थप उपचारको लागि वीरगन्ज रेफर गरिएको डीएसपी राईले जानकारी दिए। 

सबै शव पोष्ट मार्टमको लागि चपुर स्थित सरकारी अस्पतालको शव गृहमा ल्याइ राखेको प्रहरीले जनाएको छ।