सिरहा, १९ मंसिर। नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ्ले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न हुने दावी गरेका छन्। सिरहाको गोलबजार नगरपालिका ३ मुसहर्नियामा गोलबजार नगर समिटिद्वारा आयोजित तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले समाजवादी क्रान्ति अपरिहार्य रहेका भन्र्द त्यसको नेतृत्व अध्यक्ष प्रचण्डले गर्ने दावी प्रस्तुत गरेका हुन्।
समाजवादी क्रान्तिको आधार तयार गर्न सम्पूर्ण क्रान्तिकारी, देशभक्तहरु समाजवादी क्रान्तिको झण्डामुनि गोलबन्द हुन आग्रह गरे। ‘समाजवादी क्रान्तिको नेतृत्व अध्यक्ष प्रचण्डबाट मात्र सम्भव छ’ उनले भने ‘त्यसका लागि प्रशिक्षणात्क, वैचारिक अभियान गाउँ, टोल, बस्तीसम्म पुर्याएर वैचारिक राजनीतिक रुपले सशक्त बन्नु पर्ने खाँचो छ।’
अहिलेको साम्राज्यवादी युगमा वैचारिक रुपले सशक्त नभईकन समाजवादी क्रान्ति सम्भव नहुने उनले बताए। महासचिव गुरुङ्गले भने, ‘साम्राज्यवादको शिक्षा प्रणालीले विकेन्द्रित, बिखण्डित गर्ने व्यक्तिवादी र महत्वाकांक्षी बनाउँछ।’
साम्राज्यवादले पद, प्रतिष्ठावादी, उपभोक्तावादी बनाउने संस्कार र संस्कृतिले विशेषगरी युवा पिंढीलाई विचार, राजनीति, जनता, समाज, राष्ट्रबाट समेत च्युत गराउँदै लगेको उनको जिकिर थियो।
समाजवादी क्रान्तिको आधार तयार गर्न साम्राज्यवादी शिक्षा प्रणाली विरुद्ध माक्र्सवादी शिक्षा प्रणाली स्थापित गरिनु उनले बताए। तसर्थ पार्टीको विभिन्न तहको आयोजनामा यस्ता खालका वैचारिक स्कूलिङ् कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडि बढाइनु पर्नेमा उनको जोेड थियो।
पार्टीका केन्द्रीय सचिव तथा मधेश प्रदेश इञ्चार्ज लिलामणि पोखरेलले युवा पुस्तालाई विचार र राजनीतिमा जोड्दै अगाडि बढ्नु पर्नेमा जोड दिए। पार्टीको नेतृत्व तहमा रहेर सामाजिक संजालमार्फत् नकारात्मक टिप्पणी गरिएकोप्रति कटाक्ष गर्दै उनले भने ‘युद्धमा लागेका सबै सिपाहीहरु पनि इमान्दार हुँदैनन्।’ नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित महासचिव केशरजंग रायमाझी राजावादी भएको र पार्टीका संस्थापकमध्येका नारायणविलास जोशी पनि पंचायत छिरेको दृष्टान्त दिंदै उनले भने ‘पार्टी आफ्नो गन्तव्यमा लम्किरहेको छ, पार्टी जिवनम आउने जाने क्रम चलिरहन्छ।’
पार्टीको जिल्ला, प्रदेश, केन्द्रका नेताहरुसँगको पटक पटकको छलफल र समन्वयमा नगर समितिद्वारा आयोजित प्रशिक्षण प्रशिक्षण कार्यक्रमको विषयमा कार्यक्रममा सहभागी नभई पार्टी नीति विरुद्ध नकारात्मक टिप्पणी गरेको भन्दै गोलबजार नगर समितिको तर्फबाट अध्यक्ष जीवन यादवले केन्द्रीय कार्यालयमा दर्ज हुने गरी कारबाहीको माँग गर्दै महासचिव गुरुङ्लाई ज्ञापन पत्र बुझाए।
कार्यक्रमको पूर्व सूचना र निमन्त्रणा हुँदाहुँदै केन्द्रीय सदस्य महेन्द्र पासवान लगायतले गुटगत भेला भन्दै नकारात्मक टिप्पणीसहित पार्टीको नीति, अनुशासन उल्लंघन गरेको भन्दै जिल्ला इञ्चार्ज अजयशंकर नायक ‘अविनाश’ ले असन्तुष्टि जनाए।
पार्टीको संगठनात्मक अवस्था सुदृढीकरण, आगामी कार्ययोजना, समसामयिक राजनीतिक सवाल र विचारधारात्मक क्षेत्रमा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी जिल्लाका १७ वटा स्थानीय तहका एक सय ५० र आयोजकसहित करिब दुई सय जनालाई महासचिव गुरुङ्ले प्रमाण पत्र समेत वितरण गरे।