बदिवास, २८ कात्तिक। उपनिर्वाचन नजिकिएसँगै महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा चहलपहल बाक्लिएको छ। जिल्लाको रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादवको मृत्यु भएपछि सो ठाउँमा यही मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो। 

उपनिर्वाचनको मिति नजिकिएसँगै राजनीतिकदलहरुको चहलपहल रामगोपालपुरमा सुरु भएको छ। अहिलेसम्म सो वडाध्यक्षको लागि माओवादी पार्टीले मात्रै आधिकारिक रुपमा उम्मेदवार घोषणा गरेर घरदैलौ अभियान सुरु गरिसकेको छ। अन्य दलहरू अहिले पार्टी भने आधिकारीक रुपमा उम्मेदवार घोषणा नगरेपनि घरदैलोभने सुरु गरेको छ।  

दुई दिन अगाडी माओवादी केन्द्रले रामगोपालपुर नगरपालिका २ मोहनपुरमा आयोजना गरेको पार्टी प्रवेश तथा उम्मेदवार घोषणा कार्यक्रममा वडाध्यक्षको उम्मेदवारको घोषणा गरेको हो। माओवादीले उपनिर्वाचनमा रामगोपालपुर नगरपालिका २ का निर्वाचित वडाध्यक्ष स्वर्गीय मुकेश यादवकी श्रीमती आइती कुमारी यादवलाई उम्मेदवार घोषणा गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेश प्रदेशका इन्चार्ज लीलामणि पोखरेल, मधेश प्रदेशका पूर्व अर्थ मन्त्री भरत प्रसाद साह, जिल्ला इन्चार्ज राजु खड्का, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सूर्यनारायण साह लगायत पार्टीका कार्यकर्ता तथा जनसमुदायको उपस्थित रहेको थियो।

नेकपा एमालेले आधिकारिक रुपमा उम्मेदवार घोषणा नगरे पनि घरदैलो अभियानलाई तीव्रता दिएको छ। पाटीले आधिकारीक रुपमा उम्मेदवार घोषणा नगरेपनि सकिबुल खाँलाई वडाध्यक्षको उम्मेदवारको रुपमा अगाडी सार्ने जनाएको छ।

त्यसैगरी जसपा नेपालले पनि वडाध्यक्षको उपनिर्वाचनमा घरदैलो अभियान गरिरहेका छन्। 

दुई महिनाअघि मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष मुकेश यादवको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो।