पर्सा, २४ कात्तिक। मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले उद्घाटन गर्नुहुँदै प्रदेश सरकार नव–उद्यमशीलताको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। समृद्ध मधेस निर्माणका लागि वीरगञ्जमा पहिलो पटक आयोजित नवउद्यमी सम्मेलनलाई सम्वोधन गर्दै मुख्य मन्त्री सिंहले सम्मेलन आर्थिक समृद्धिका लागि महत्वपूर्ण हुने बतएका हुन।
उनले आफू पनि राजनीति छोडेपछि केही गर्न सकिन्छ कि भन्ने सोच राखेर सिक्न सम्मेलनमा आएको बताए।
त्यस अवसरमा उनले परम्परागत शिक्षाले उद्यमशीलताको विकास नहुने भन्दै आधारभूत तहदेखि नै व्यवहारिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिए।
नेपालका अधिकांश युवाहरू वैदेशिक रोजगारीमा गएका र महिलाहरू घरमै बसेर समय खेर फालिरहेको बताउँदै उनले त्यस्ता महिलाहरूका लागि उद्यमशीलताको विकास गर्न विशेष रुपमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री सिंहले मधेस सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा उद्यमशीलताका लागि प्रशिक्षण केन्द्र स्थापना गर्न बजेट बिनियोजन गरेको जानकारी दिँदै वीरगञ्जमा आइटी पार्कको लागि पनि बजेट विनियोजन गरिएको सुनाए।
नवउद्यमशीलताका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले उपलब्ध गराएको सङ्घको १८ कठ्ठा जग्गामा पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अहमदले मधेसको समृद्धि कृषि क्रान्तिबाट हुने देखिएको हुँदा कृषिसँग आधारित उद्योग र पर्यटनलाई मधेस सरकारले सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त जनाए।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नवउद्यमी युवाहरूलाई लक्षित गर्दै उद्यमशीलताको विकासका लागि आयोजित सम्मेलन वीरगन्जसहित मधेस प्रदेशको समृद्धिमा कोशेढुंगा साबित हुने बताए।