सिरहा, २३ कात्तिक। उदाउँदो सूर्यलाई अर्घ्य दिदैं  यस वर्षको छठ पूजा सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पूजा पूरा गरिएको हो।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने कामनाका साथ श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो।

सूर्यको पूजाअर्चना गरी मनाइने छठ पर्वको तेस्रो दिन बिहीबार कात्तिक शुक्ल षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घाटमा पूजासामार्गीहरु माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, लगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकारहरू राखेर जलाशयमा शरीर डुबाउँदै विहिवार अस्ताउँदो र आज उदाउँदो सूर्यलाई अर्घ्य दिएको हो। मुख्य रुपमा सूर्यको पुरा हुने यस पर्वमा कृषि उपजहरु चढाउने चलन छ।