सप्तरी, २१ कार्तिक। सप्तरीको सुरुङ्गा नगरपालिका ८ धाँती बजारमा बुधबारबाट खुला फुटबल प्रतियोगिता सुरु भएको छ। आज भएको उद्घाटन खेल शान्ति युथ क्लब ईटहरी र सप्तरीको नमोबुद्ध युवा क्लब मझौबिच भएको हो। निर्धारित समय भित्र कुनैपनि टिमले गोल गर्न नसकेपछी खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा पनि दुवै टोलीले बराबर गोल गरेपछी गोलाप्रथाद्वारा इटहरी टिम विजयी भएको हो। 

उद्घाटन खेल सुरुङ्गा नगरपालिकाको मेयर गीता चौधरीको प्रमुख आतिथ्यता तथा खेल संचालक समितिको अध्यक्ष आनन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा अतिथिको रुपमा वडा नम्वर ८ का वडा अध्यक्ष श्याम प्रसाद साह, १० का चन्द्र नारायण यादव (धनराज) ११ का रामकुमार चौधरी, नगरप्रवक्ता शिवदर्शन पासवान, पुर्व नगरप्रमुख मुक्तिनाथ चौधरी, पुर्व उपप्रमुख बिन्दा कुमारी पासवान, पुर्व वडा समाजसेवी छेदी साह, भगवानपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द्र नारायण चौधरी, निर्मला चौधरी, माध्यमिक विद्यालय सेहराका प्रधानाध्यापक किसुन यादव, आ.वि. बसानपट्टिका प्र. अ. उग्रनारायण चौधरी, डा. चन्द्र नारायण चौधरी, धाँतीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादव, सशस्त्र प्रहरी बल कुसहाका प्रहरी नायब निरीक्षक ख्याम बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको लागि प्रथम पुरस्कार पटहेरबा निवासी ॐ साई साईराम कन्ट्रक्सन सातदोबाटो, ललितपुरका संचालक विजय साहले ५५ हजार ५ सय ५५ रुपैयाँ र द्वितीय पुरस्कार मलहनमा निवासी भौतिक योजना तथा निर्माण मन्त्रालयका कोशी प्रदेशका अशोक साहले ३५ हजार ५ सय ५५ रुपैयाँ सौजन्य गरेको आयोजकले जनाएको छ।

प्रतियोगिता सुरुङ्गा नगरपालिकाको आर्थिक सहयोग र माँ मुसहनियाँ युवा क्लबको आयोजनामा सुरु भएको हो। 

कार्यक्रममा स्वागत मन्तव्य वडा नम्वर ८ का वडा अध्यक्ष श्याम प्रसाद साहले दिएको थियो भने कार्यक्रमको संचालन सबल नेपालका शिक्षा अधिकृत राधेश्याम रामले गरेका थिए।