काठमाडौं, २० कात्तिक। गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सांसद मनाङेलाई दोषी ठहर गरेको हो।
मनाङे मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका हुन्।
सर्वोच्च अदालतको फैसला पछि सांसद मनाङेलाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ।
यसअघि, उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेकोमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा परेको निवेदनमा सर्वोच्चले दाबी नपुग्ने ठहर गर्दै उच्चकै फैसला सदर गरेको हो। उच्चले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। फैसला अनुसार मनाङेले अब तीन वर्ष जेल बस्नुपर्छ। यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उनी दुई वर्ष जेल बसेका थिए।
सर्वोच्चको फैसलापछि गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले आफूले यसबारे कानुनविद्सँग परामर्श गर्ने प्रतिक्रिया दिए। उनले भने, ‘यो अदालतको फैसलाको कुरा हो, कानुनले जे भन्छ, त्यही हुन्छ। कानुनबमोजिम के हुन्छ भन्ने कानुनविद्सँग परामर्श गर्छु।’
संविधानको धारा १७८ मा प्रदेशसभा सदस्य बन्न नैतिक पतन देखिने फौजदारी कसुर सजाय नपाएको हुनुपर्ने व्यवस्था छ।