जनकपुरधाम, १९ कात्तिक। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले लोकआस्थाको छठ पर्व साँस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण भएको भन्दै सूर्योपासना सृष्टि पूजनसँगै जीवन दर्शन भएको बताएका छन्। 

धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा सोमबार आयोजित छठका विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममा मुख्यमन्त्री सिँहले जीवनलाई आधार दिने विशाल, उर्वर, समथर र सिँचित भूभाग तथा सूर्य किरणबाट सिर्जित कृषि प्रणाली, शुद्धता र पवित्रतायुक्त लोकव्यवहार, धनीगरीब, उँचनिचलगायत सबै खाले भेदभावविरुद्ध समभाव र प्रकृतिका विभिन्न जीवनदायिनी तत्त्वप्रति आस्थाको अभिव्यक्ति छठ पर्व भएको औंल्याए। 

उनले एकता, सद्भाव र सहिष्णुताबाट छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजासामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकोमा आयोजक संस्थाको सराहना समेत गरे। 

’व्यक्ति आफूमा निहित अहंकार र अस्पृश्यताको भाव पखाल्न माग्ने भाकल पुरा गर्ने पर्व पनि हो यो । अर्थात् सरलता र सादगीका साथ जीवनयापन गर्ने संकल्प लिने अवसर पनि,’ मुख्यमन्त्री सिँहले भने। 

जनकपुरधाम उपमहानगरपालिका मेयर मनोजकुमार साहले जनकपुरधामको छठ पर्वको मौलिक र विशिष्ठ रहेको भन्दै यसलाई थप आकर्षक बनाउन विभिन्न पर्वतिहारलाई थप आकर्षक बनाउन जनकपुरधामको सरसफाइप्रति सचेतना आवश्यक रहेको बताए। 

‘प्रदेश सरकारसँग समन्वय गरेर हामीले जनकपुरधामको सरसफाइसम्बन्धी योजना कार्यान्वयन गर्ने भएका छौँ । यसले जनकपुरधामलाई सफा बनाउने सन्दर्भमा आशातीत सुधार हुनेछ,’ मेयर साहले भने  

जनकपुरधामका पूर्वमेयर बजरंगप्रसाद साहले छठ पर्वको सनातन महत्त्वबारे चर्चा गर्दै पछिल्ला दिनमा यसको विस्तार भइरहेको बताए। 

कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीलगायतले आआफ्ना धारणा राखेका थिए। 

कार्यक्रममा सय जना छठका व्रतालु महिलालाई नयाँ पहिरन र अन्य पूजा सामग्री वितरण गरिएको छ।