बद्री नारायण यादव
सिरहा, १५ कात्तिक। जनता समाजवादी पार्टी (जसपा) नेपाल जनतालाई मालिक बनाउने पार्टीको रुपमा अघि बढ्दै गएको सिरहा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले बताए।
जसपा नेपाल वडा समिति औरही गाउँपालिका २ तुल्सीपुर बनिनियाँले आयोजना गरेको जनतासँग जसपा नेपाल आधारभुत संगठन निर्माण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहेका यादवले जनतालाई मलिक बनाउने अभियानमा आफ्नो पार्टी निरन्तर अग्रसर रहेको बताएका हुन्।
जनताको मत पाएर नेपाली काँग्रेस र नेकपा एमाले पार्टी ठुलो बनेपनि जनता भने सानो बन्दै गएको आरोप लगाउदै उनले भने, ‘जनतालाई ठग्ने काम बन्द हुनुपर्छ। दुईवटा पार्टीका कारण देशमा गरिबी, अशिक्षा, बैदेशिक ऋण बढ्दै गएको छ। मोज गर्ने ठुला पार्टीका नेता र ऋण बोकाउन जनतामाथि यो कतिको उचित छ?’
‘चुनावका बेला ठुला कहलिएका पार्टीका नेताहरुले केही लोभ दिन्छ। केही पैसा बाँड्छ। केही झुठा आश्वासन बाँड्छ,’ उनले भने, ‘त्यस्ता लोभमा पर्दै गयौं भने देशमा थिति कहिले बस्दैन। जनता गरिबीको खाडलमा मात्र जानेछ। भ्रष्टाचारमा बृद्धि आउने छन्। त्यस्तै त्यस्ता लोभमा पर्नु हुँदैन्।’
नेपाली काँग्रेस र नेकपा एमाले ठुला कहलिएका पार्टीका नेताहरु भ्रष्टाचार गरेर विदेशमा लगानी गरेको उनको आरोप । सुशासन, समृद्धि र समानता जस्ता आकर्षक नारा दिएर जनतालाई भ्रममा पार्दै भ्रष्टाचार गर्दै आएको कारणले हरेक नागरिकको टाउँकोमा ७५ हजारका दरले ऋण हुन गएको उनले तर्क गरे।
‘अगाध माया र स्नेह दिएर पालन–पोषण गरेका छोरालाई कलिलै उमेरमा बिदेश पठाउनु कस्तो अनुभूति हुन्छ?,’ उनले भने,‘आफ्ना लागि नभएपनि आउने सन्ततिको भविष्यलाई विचार गरेर लोभमा नपरी थिति बसाल्नेतिर जोड दिनु पर्छ। देशमा थितिमात्र बस्यो भने जनता मालिक हुन बेर लाग्दैन्।’
तराई मधेशको मुल पहिचान र समस्यालाई पहिचान गर्दै उठान गर्ने अठोटका साथ जसपा नेपाल अगाडि बढेको प्रष्ट पार्दै उनले राष्ट्रिय राजनीतिलाई जसपाले मात्र निकास दिन सक्नेदावी गरे। बेला–बखतमा आए जस्तै यसपल्ट फेरी जनताको भावना बटुल्न र त्यस अनुसारका नीति बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्न जनतासँग जसपा नेपाल भन्ने अभियान थालेको उनले प्रष्ट पार्ने प्रयास गरे।
गाउँपालिकाको चौतर्फी विकास, व्यवस्थापन, सामाजिक समानता, शैक्षिक सुधार, कृषिमा आधुनिकीकरण जस्ता अन्य मुल विषयलाई प्राथमिकतामा राखेर योजना बनाइ त्यसको प्रभावकारी कार्यान्वयन गर्दै आएको औरही गाउँपालिकाका अध्यक्ष शिबजी यादवले बताए।
पालिकाभित्र रहेका सबै वडा, टोल, बस्तीको समावेशी विकासको नीतिलाई व्यवहारमा लागु गरेर अघि बढ्दै आएको उनले दाबी समेत गरे।