सिराहा, १३ कात्तिक। सिरहा प्रहरीले श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा लहान नगरपालिका ४ मण्डल टोलबाट श्रीमतीलाई पक्राउ गरेको छ।
लहानस्थित मालपोत कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत ४६ वर्षीय बद्रीनारायण ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा श्रीमती ३१ वर्षीया मालती ठाकुरलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार पक्राउ गरिएकी मालतीलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको छ।
ठाकुरको शव शनिबार राति आफ्नै घरको भर्याङमुनि भेटिएको स्थानीय बासिन्दाले दिएको सूचनाको आधारमा तत्काल घटनास्थलमा प्रहरी परिचालन गरी आइतबार घटनास्थलको मुचुल्कालगायतका प्रक्रिया पूरा गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिको खोजीका लागि आइतबार बिहान जनकपुरधामस्थित मधेश प्रहरी कार्यालयबाट ल्याइएको तालिमप्राप्त कुकुरको सहयोगमा मृतककी श्रीमतीलाई पक्राउ गरिएको हो।
एक छोरा र एक छोरी रहेका ठाकुरको हत्याको कारण श्रीमतीको अन्य व्यक्तिसँगको सम्बन्ध हुन सक्ने प्रहरी आशंका छ।