सिरहा, १२ कात्तिक। सिरहा प्रहरीले रोेजगारीको लागि कत्तार पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना मलेशियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। नेपाल सरकारसँग अनुमति नलिई लहान नगरपालिका ४ स्थित गोधुली होटलमा कतार पठाई दिन्छु भन्दै अन्तर्वार्ता लिईरहेको अवस्थामा मलेशियन नागरक अन्दाजी ५१ वर्षिय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान २३ का ४२ वर्षिय रामा शंकर यादव, २५ वर्षिय राम भरत यादव र ३९ वर्षिय सूर्य नारायण दावलाई लहान प्रहरीले शनिवार राती पक्राउ गरेको हो। 

नेपाल सरकारसँग अनुमति गोधुली होटलमा अन्तर्वार्ता लिईरहेको भन्ने सूचनाका आधारमा पुगेका प्रहरीले चारै जनालाई नियन्त्रणमा लिई आवश्यक कार्वाही प्रकृया सुरु गरीसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए। 

उनीहरुे केही व्यक्तिहरुसँग रकम समेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई रहेको छ। 

सूचना अधिकारी पासवानले उनीहरुले अन्य ठाउँहरुमा पनि अन्तरवार्ता लिएको र रकम असुल गरेको हुन सक्ने बताए। उनले भने, ‘प्रहरी अहिले अनुसन्धानमै छ। यो समूहले जिल्लाकै अन्य ठाउँमा अन्तरवार्ता लिएको र रकम असुल गरेको हुन सक्ने प्रहरीको अनुमान छ। अहिले अनुसन्धान जारी छ। अनुसन्धान पुरा भएपछि थप विवरणहरु सार्वजनिक गर्ने छौं।’

प्रहरीले ठगी सम्वन्धी मुद्दामा चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।